सुदूरपश्चिममा हरेक दिन आधाभन्दा बढी व्यक्ति सङ्क्रमित

३ जेष्ठ, कैलाली ।
सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको नमूना परीक्षण गराएकामध्ये पछिल्ला दिनमा आधाभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् ।

Advertisement

स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्कअनुसार अघिल्लो साता प्रदेशमा १० हजार १८० जनाको कोरोना भाइरसको नमूना परीक्षण भएकोमा झण्डै ५१ प्रतिशत अर्थात् पाँच हजार २३५ सङ्क्रमित भएका छन् ।

त्योभन्दा अघिल्लो साता नमूना परीक्षण गराएका पाँच हजार ३४६ मध्ये झण्डै ४३ प्रतिशत अर्थात् दुई हजार २९० मा सङ्क्रमण पुष्टि भएको थियो ।

Advertisement

गत एक वर्षको अवधिको सङ्क्रमणसम्बन्धी तथ्याङ्क विश्लेषण गर्ने हो भने अहिलेसम्म पिसिआरबाट नमूना जाँच गरिएकामध्ये झण्डै १६ प्रतिशत सङ्क्रमित भएको पाइएको छ ।

प्रदेशमा हालसम्म पिसिआरबाट एक लाख ६२ हजार २७८ को नमूना परीक्षण भएकामा २५ हजार ४५४ मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

Advertisement

यस्तै गत वैशाखदेखि शुरु गरिएको एन्टिजेन परीक्षणतर्फ भने हालसम्म ३५ हजार १७२ को नमूना परीक्षण भएकामा झण्डै १४ प्रतिशत अर्थात् चार हजार ९६६ मा सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेशमा यो रोगबाट मृत्यु हुने दर पनि गत हप्ता अहिलेसम्मकै उच्च पुगेको छ । आइतबार मात्रै कैलाली, कञ्चनपुर, डडेलधुरा, बझाङ, बैतडी, अछाम र दार्चुलाका गरी १६ सङ्क्रमितको मृत्यु भएको थियो । हप्ता दिनमा प्रदेशमा जम्मा १२९ जनाको मृत्यु भएको छ ।

अघिल्लो हप्ता ९९ जनाको मृत्यु भएको थियो । हालसम्म एन्टिजेन परीक्षणबाट पोजिटिभ देखिएका १६९ र पिसिआरबाट पोजिटिभ देखिएका १८५ समेत ३५४ सङ्क्रमितको मृत्यु भएको छ ।

उपचार व्यवस्थापनपछि हालसम्म पिसिआर पोजिटिभ भएका १६ हजार २२० र एन्टिजेन पोजिटिभ भएका दुई हजार ५८९ जना घर फर्किएका छन् ।

निर्देशनालयको तथ्याङ्कअनुसार हालसम्म सङ्क्रमित हुनेमा सबैभन्दा बढी २० देखि २९ वर्ष उमेर समूहका आठ हजार ३८७ व्यक्ति छन् । नौ वर्षसम्मको उमेर समूहका एक हजार २२ बालबालिका सङ्क्रमित भएका छन् ।

त्यस्तै ३० देखि ३९ वर्ष उमेर समूहका छ हजार ६०४, ४० देखि ४९ वर्ष उमेर समूहका तीन हजार ६५३, ५० देखि ५९ वर्ष उमेर समूहका दुई हजार १२४ र ६० देखि ६९ वर्ष उमेर समूहका ८६६ जना सङ्क्रमित भएका छन् ।

तुलनात्मकरूपमा ७० वर्ष माथिको उमेर समूहका व्यक्ति कम सङ्क्रमित छन् । सङ्क्रमण र मृत्यु दर उच्च बनेसँगै कोरोनाको जस्तो लक्षण देखिएका धेरै सर्वसाधारण हाल होम आइसोलेशनको एकान्तबासमा रहेका छन् ।

यीमध्ये जटिल अवस्थाका कतिपयले नमूना परीक्षण गराएका छन् । सामान्य अवस्थाका यस्ता बिरामीले नमूना परीक्षण गराएका छैनन् । धेरै व्यक्ति स्वास्थ्यकर्मीको प्रत्यक्ष परामर्शविना नै घरेलु उपचार विधिमा आश्रित हुनुपरेको छ ।

“स्वास्थ्य परामर्शका लागि चिकित्सकलाई फोन गर्दा फोन उठ्दैन, अब भगवानको भरोसामा ओछ्यानमै बस्नुभन्दा अर्को विकल्प छैन”, होम आइसोलेशनमा बसेका एक संक्रमितले टेलिफोनमा गुनासो सुनाए।

नमूना परीक्षण गराउन पनि शङ्कास्पद बिरामीलाई सकस भइरहेको छ । नमूना सङ्कलन गर्दा लामो लाइनमा घण्टौंसम्म उभिनु पर्ने अवस्थाले सङ्क्रमण थप फैलिने जोखिम पनि देखिएको छ ।

प्रदेशको धनगढीमा सञ्चालनमा रहेको एक मात्र मालिका ग्यास उद्योग बिग्रिएर उत्पादन बन्दा हुँदा भएको अक्सिजनको अभावले जटिल अवस्थाका बिरामीको उपचार व्यवस्थापनमा थप समस्या भएको छ ।(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top