डब्लुएचओद्वारा कोरोना भाइरसका भेरियन्टको नामकरण, कुन भेरियन्टको नाम के ?

डब्लुएचओद्वारा कोरोना भाइरसका भेरियन्टको नामकरण, कुन भेरियन्टको नाम के ?

१८ जेष्ठ, बीबीसी ।
कोरोनाभाइरसका नयाँनयाँ प्रकारहरू निस्कन थालेपछि विश्व स्वास्थ्य सङ्गठनले तिनको नामाकरण गर्ने नयाँ प्रणालीको घोषणा गरेको छ।

अबदेखि उसले यूके, दक्षिण अफ्रिका र भारतमा सबैभन्दा पहिला देखा परेका विभिन्न भेरिअन्टलाई ग्रीक वर्णमालाका अक्षरहरूको प्रयोग गरेर चिनाउनेछ।

अब भेरिअन्टका नाम के हुनेछन्?

जहाँ भेरिअन्ट पहिले पत्ता लाग्यो त्यही ठाउँबाट चिन्ने गरिएको अहिलेको प्रणालीले स्थानविशेषविरुद्ध विभेदपूर्ण भावना विकसित गराएको भन्दै डब्ल्यूएचओले नयाँ प्रणाली ल्याएको हो।

जसअनुसार आइन्दा यूके भेरिअन्टलाई अल्फा, दक्षिण अफ्रिकी भेरिअन्टलाई बिटा अनि भारतीय भेरिअन्टलाई डेल्टा भनिनेछ।

यसै महिनाको सुरुमा भारतीय सरकारले त्यहाँ गत अक्टोबरमा सबैभन्दा पहिले यकिन गरिएको B.1.617.2 भेरिअन्टलाई भारतीय भेरिअन्ट भनिएकोमा आलोचना गरेको थियो।

हुन त डब्ल्यूएचओले आधिकारिक रूपमा त्यसको नाम भारतीय भेरिअन्ट कहिले पनि भनेको थिएन।

भेरिअन्ट निगरानी जरुरी

विश्व स्वास्थ्य सङ्गठनकी कोभिड–१९ प्राविधिक समूहकी प्रमुख मारिया भन कर्खोभले ट्वीट गर्दै, भेरिअन्ट पत्ता लगाएर जानकारी दिएकोमा कुनै पनि देशलाई अप्ठेरोमा पारिनुहुन्न भनेकी छन्।

उनले सङ्क्रमण विस्तार रोक्न भेरिअन्टहरूको सक्रियतापूर्वक निगरानी गर्न र वैज्ञानिक डेटा बाँड्न आवश्यक भएको बताइन्।

अब प्रयोग गरिने ग्रीक अक्षरहरूले चासोका साथ हेरिएका तथा चिन्ताका साथ हेरिएका दुवै प्रकारका भेरिअन्टलाई जनाउनेछन्। तिनका नामहरूको पूर्ण विवरण डब्ल्यूएचओको वेबसाइटमा राखिएको छ।

यी ग्रीक अक्षरहरूले ती भेरिअन्टको पूर्ण वैज्ञानिक नामलाई विस्थापन भने गर्ने छैनन्। कर्खोभका अनुसार यदि २४ भन्दा धेरै भेरिअन्ट भेटिएको खण्डमा ग्रीक वर्णमालाका अक्षर सकिनेछ र नयाँ प्रणाली घोषणा गरिनेछ।

सोमवार यूके सरकारलाई सल्लाह दिने समूहका एक वैज्ञानिकले यूके कोभिड सङ्क्रमणको तेस्रो लहरको प्रारम्भिक चरणमा रहेको भनेका थिए।

जसको एक कारण विगतमा भारतीय भेरिअन्ट भन्ने गरिएको डेल्टा भेरिअन्टको विस्तार रहेको उनले बताए। डेल्टा भेरिअन्ट विगतमा यूके भेरिअन्ट भन्ने गरिएको अल्फा भेरिअन्टभन्दा चाँडो फैलने बताइन्छ।

अल्फाकै कारण जाडोयाममा यूकेमा महामारी निकै फैलिएको थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.