१५ असार, एजेन्सी ।
अफ्रिकी मुलका व्यक्तिहरुमाथि हुँदै आएको रंगभेदी व्यवहारको भुल सुधार या भरणका लागि क्षतिपूर्तिको व्यवस्था गर्न संयुक्त राष्ट्रसंघीय मानवअधिकार आयोगले माग गरेको छ ।
आयोगको नयाँ प्रतिवेदनमा विभेद तथा भेदभावलाई सम्बोधन गर्न माफीसँगै शैक्षिक सुधारको व्यवस्था गर्न पनि सुझाव दिएको छ ।
ब्ल्याक लाइभ्स म्याटर समूहले गरेको कामको प्रशंसा गर्दै आयोगले सो समूहलाई आर्थिक सहयोग, सार्वजनिक पहिचान तथा सहयोग गरिनु पर्ने उल्लेख गरेको छ ।
आयोगको प्रतिवेदन सन् २०२० मा अमेरिकामा प्रहरीको ज्यादतीका कारण मारिएका निहत्था अश्वेत अमेरिकी जर्ज फ्लोइडबाट सुरु भएको छ । फ्लोइडको निधनपछि अमेरिकासहित विश्वभर रंगभेदविरोधी आन्दोलनले नयाँ गति लिएको थियो ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार आयोगले ३०० भन्दा बढि विज्ञ तथा अफ्रिकी मुलका व्यक्तिसँगको छलफलपछि प्रतिवेदन तयार पारेको हो । देशहरुलाई रंगभेद तथा त्यसका आधारमा भइरहेका अन्याय अन्त्यका लागि प्रभावकारी कदम चाल्न राष्ट्रसंघले आग्रह गरेको छ ।
प्रतिवेदनमा शताब्तीयौँदेखि हुँदै आएको विभेदको भरणपोषणका लागि विभिन्न स्वरुपको क्षतिपूर्ति, माफीसहितका उपाय अपनाउन सुझाव दिइएको छ ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त मिशेल बाचेलेले सोमबार वक्तव्य जारी गर्दै सबै राज्यहरुले रंगभेद छ भन्ने कुरालाई अस्वीकार गर्न छोडेर रंगभेदलाई भत्काउन तर्फ लाग्नु पर्ने बताएकी छन् ।
अफ्रिकी मुलका व्यक्तिहरुको कुरा सुन्न तर्फ लाग्नु पर्ने पनि उनले बताएकी छन् ।
