१५ असार, विराटनगर ।
कंगोमा रहेको नेपाली शान्ति सेनाले त्यहाँ जीर्ण अवस्थामा रहेको एउटा पुलको मर्मत पछि सञ्चालनमा ल्याएको छ।
नेपाली शान्ति सैनिकले लामो समयदेखि जीर्ण अवस्थामा रही स्थानीयबासिन्दाको आवत–जावत तथा फौजको हर्कत समेतमा बाधा परिरहेको सारी नदी माथि रहेको पुलको मर्मत गरेर सञ्चालन गरेको हो।
कंगोमा तैनाथ श्री नं २४ फिल्ड गुल्म (इन्जिनियर्स) ले उक्त पुलको मर्मत गरेर सञ्चालनमा ल्याएको नेपाली सेनाले जनाएको छ।
मर्मत पश्चात् उक्त पुल मुनुस्को मिसनका डेपुटी स्पेशल रेप्रिजेन्टेटिभ्स अफ द सेक्रेटरी जेनेरल (डिएसआरएसजी) कासिम डिग्नेले उद्घाटन गरी स्थानीयलाई हस्तान्तरण गरेको नेपाली सेनाले जनाएको छ।
उक्त अवसरमा डिग्नेले नेपाली इञ्जिनियर कम्पनी तथा शान्ति स्थापना कार्यमा नेपाली सेनाले पुर्याएको योगदानको प्रशंसा गरेका थिए।
उक्त क्षेत्रका स्थानिय बासिन्दाहरूलाई समय समयमा हतियारधारी समूहहरूले दुःख दिने गरेको र जीर्ण अवस्थामा रहेको पुलको कारण मुनुस्कोलगायत अन्य स्थानिय फौज परिचालन गर्न कठीन रहेकोमा पुल मर्मत पश्चात स्थानिय बासिन्दाले सुरक्षित महशुस गरेको साथै उक्त क्षेत्रको व्यापारिक केन्द्र बुनियासँगको व्यापारमा समेत सघाउ पुगेको छ।
