१ साउन, काठमाडौं ।
लगातारको वर्षापछि आएको बाढीले युरोपेली देश जर्मनी र ब्राजिलको जनजीवन प्रभावित भएको छ । बाढीमा परेर ७० जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा धेरैजसो जर्मनीका नागरिक छन् । बाढीमा परेर केही हराइरहेका छन्। सुरक्षाकर्मीले हेलिकप्टरमार्फत बाढी र डुबान प्रभावित क्षेत्रमा उद्धारको काम गरिरहेका बीबीसीले जनाएको छ ।
सयौँ नागरिकहरु उद्धारको पर्खाइमा घरको छतमा बसेका छन् । बाढीका कारण पश्चिम जर्मनीका विद्यालयहरु बन्द गरिएको छ भने कयौँ सडक खण्डमा पनि क्षति पुगेको छ । बाढी प्रभावित क्षेत्रमा आपत्कालीन अवस्था लागू गरिएको छ ।
पश्चिमी जर्मनीसँग जोडिएका अन्य देशमा पनि बाढीको असर परेको खबरमा उल्लेख छ। आज पनि जर्मनी, बेल्जियम, नेदरल्याण्ड्स लगायत युरोपका केही देशमा ठूलो पानी पर्ने चेतावनी दिइएको छ। पश्चिमी युरोपमा एक शताब्दीयताकै भीषण वर्षा भएको त्यहाँका मौसम विभागले जनाएका छन् ।
