५ साउन, काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले भिसाकै कारण द हन्ड्रेड क्रिकेट प्रतियोगिता नखेल्ने पक्का भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत सन्दीपले इङ्ल्यान्ड र वेल्स क्रिकेटको आयोजनामा हुने द हन्ड्रेड प्रतियोगिता गुमाउने पक्का भएको जानकारी दिएका हुन् ।
यो प्रतियोगिता गुमाउन पुगेकोमा आफू निकै निराश भएको सन्दीपले फेसबुकमा लेखेका छन् ।
यही बिहीवारदेखि सुरु हुने प्रतियोगितामा सन्दीपलाई झन्डै एक करोड नेपाली रुपैयाँमा ओभल इन्भिन्सिबल्सले अनुबन्ध गरेको थियो ।
गएको असार २४ गते इङ्ल्यान्ड गएका सन्दीपले गएको सोमवार बेलायत सरकारबाट मान्यता प्राप्त होटलमा १० दिनको क्वरेन्टीन समय माग गरेका थिए । इङ्ल्यान्ड क्रिकेट बोर्ड (ईसीबी) को निर्देशनअनुसार आफूले भिसाका लागि आवेदन दिएको पनि सन्दीपले बताएका छन् ।
सन्दीपले आफ्नो भिसा किन वैध नभएको भन्दै ईसीबीलाई प्रश्न पनि गरेका छन् । प्रतियोगितामा आफ्नो उपस्थितिलाई लिएर उत्साहित भएका प्रशंसकसँग पनि सन्दीपले माफी मागेका छन् ।
सन्दीप नखेल्ने भएपछि उनको ठाउँमा टी–२० वरीयताका नम्बर एक बलर दक्षिण अफ्रिकाका तबरिज साम्सीलाई खेलाउने बुझिएको छ ।