सडक बनाउन माग गर्दै चक्काजाम

सडक बनाउन माग गर्दै चक्काजाम

काठमाडौँ, असार २०

चाबहिल–बौद्ध–जोरपाटी–साँखु र सुन्दरीजल सडक बिस्तार एवं निर्माण छिटो हुनुपर्ने माग राखी आज बिहान गरिएको चक्का जाम समापन भएको छ । सडकको दुरावस्थाका कारण विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तूप क्षेत्र संरक्षित स्मारकबाट समेत हट्न सक्ने खतरा भएर बाध्य भई आज बिहान चक्का जाममा उत्रनुपरेको समता मानव अधिकार तथा नागरिक समाजले जनाएको छ । वर्षौंदेखि सडक नबन्दा यो मार्गबाट आवागमन गर्ने यात्रु वर्षामा हिलो र हिउँदमा धुलो खान बाध्य छन् ।

नेपाल मेडिकल कलेज, शंकरापुर अस्पताल, अर्थोपेडिक अस्पताल, स्तूपा सामुदायिक अस्पताललगायत स्वास्थ्य संस्थामा बिरामी पु¥याउन हिँडेका एम्बुलेन्स सडकमा जमेकोे पानीको दहमा फस्दा बिरामीले सास्ती व्यहोर्नुपरेकाले सडकको स्तरोन्ततिका लागि स्थानीयवासीले निरन्तर दबाबमूलक विरोधका कार्यक्रम गर्दै आएका हुन् ।

जनताले दुःख पाएकैले सरोकार भएका निकायको ध्यानाकर्षण गर्न चक्काजाम गरिएको समाजका अध्यक्ष नोर्साङ शेर्पाले जानकारी दिए । सडकका ठाउँमा बनेका ठूला खाल्डामा पानीको दह जम्दा सवारी साधन र पेटीमा यात्रा गर्ने पैदल यात्रुले समेत सास्ती खेप्दै आएका छन् ।

स्थानीय दबाब समूहले यसअघि सडकमै विरोधसभा, सडक रोपाइँ, कवि गोष्ठीलगायतका कार्यक्रमसमेत गर्नुका साथै अब सरोकार भएका निकायमा घेराउ गर्ने योजना रहेको समाजले जनाएको छ । चक्काजामका कारण आज बिहान सबै यात्री पैदल यात्रा गर्न बाध्य भएका थिए ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.