१२ साउन, एजेन्सी ।
भारतको असाम र मिजोरम राज्यका प्रहरीबीच गोली हानाहान हुँदा कम्तिमा पाँच जना प्रहरीको मृत्यु भएको छ । उत्तर पूर्ब भारतको मिजोरम र असाम राज्यको सीमा क्षेत्रमा उक्त घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । मृत्यु भएका पाँचै जना प्रहरी असाम राज्यका रहेको बीबीसीले जनाएको छ ।
दुबै राज्यका अधिकारीसँगै मुख्यमन्त्रीले एक अर्कालाई उक्साहटले हिंसा निम्तिएको आरोप लगाएका छन् । दुबै राज्यमा महिनौदेखिको सीमा विवादपछि उक्त घटना भएको हो । असाम र मिजोरमबीच १६४ किलोमिटर सीमा जोडिएको छ । सीमाङ्कनको विषयलाई लिएर दुबै राज्यबीच पटक पटक विवाद हुँदै आएको छ ।
केन्द्र सरकारले सन् १९९४ देखि विवाद समाधानको प्रयास गर्दै आएको छ । तर अझै निरुपण हुन सकेको छैन् । सोमबार केन्द्रीय गृहमन्त्री अमित शाहले मिजोरम र असाम दुबै राज्यका मुख्यमन्त्रीसँग छलफल समेत गरेका छन् । मिजोरम सन् १९७२ मा असामबाट अलग्गिएको थियो ।
