२० साउन, एजेन्सी ।
अफगानिस्तानका रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदीको घरमा आक्रमण भएको छ । समाचार एजेन्सीहरुका अनुसार सो घटनामा चार जना मारिएका छन् ।
हतियारधारी समूहले कार बम र गोलीमार्फत् आक्रमण गरेको जनाइएको छ । आक्रमणको समयमा रक्षामन्त्री बिस्मिल्लाह भने थिएनन् ।
रक्षामन्त्रीले ट्वीट गर्दै आफू सुरक्षित रहेको प्रतिक्रिया दिएका छन् । तर पछिल्लो समय रक्षामन्त्रीको परिवार सँगै यस क्षेत्रका सयौँ परिवार सुरक्षित स्थानतर्फ गएका छन् ।
यो घटनामा चार जना आक्रमणकारीको मृत्यु भएको सुरक्षा अधिकारीहरुलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले जनाएको छ । घटनामा ११ जना घाइते भएका छन् ।
अफगानिस्तानका अलग–अलग स्थानमा तालिबान र सरकारी सुरक्षा बलबीच भिडन्त तीव्र भएका समाचारहरु सार्वजनिक हुँदै आएका छन् । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले द्वन्द्व अन्त्यको अपिल गरेलगत्तै यो आक्रमण भएको हो ।
काबुलमा मंगलबार दुई घण्टा भन्दा कम अवधिमा चारवटा विस्फोट भएका छन् । मंगलबार राति राजधानी काबुल शहरको केन्द्र भागमा भयंकर विष्फोट भएको आवाज सुनिएको थियो । धेरै सरकारी कार्यालय र विदेशी कूटनीतिज्ञहरुको आवास रहेको स्थान नजिक विष्फोट भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । राष्ट्रपति भवन, दूतावासहरु, अन्तर्राष्ट्रिय मिडिया र सहायता एजेन्सीहरुको कार्यालय पनि सोही क्षेत्रमा छन् । हालसम्म आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन ।
