विराटनगर,असार २२
सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरको स्थापना दिवसको अवसरमा मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल श्रमजीवी पत्रकारिता पुरस्कार पत्रकार अभयकुमार राईलाई प्रदान गरिने भएको छ । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरको स्थापना दिवसको अवसरमा पारेर प्रत्येक वर्ष प्रदान गर्दै आएको मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल श्रमजीवी पत्रकारिता पुरस्कार विराटनगरका पत्रकार अभय राईलाई प्रदान गरिने भएको हो ।
पुरस्कारको राशी २१ हजार रुपैयाँ छ । यसभन्दा अगाडि यस पुरस्कारबाट पत्रकार कुमार लुईटेल, मोहन मानन्धर र उद्धव घिमिरे पुरस्कृत भैसकेका छन् । यस्तै सञ्चारकर्मी सहकारीबाट तीन वर्षदेखि प्रदान गर्दै आएको मीना श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कार २०७५, उर्लाबारीकी पत्रकार ज्योति चौहानलाई प्रदान गर्ने भएको भएको छ ।
यस पुरस्कारको राशी नगद १० हजार छ । यस पुरस्कारबाट सुशीला पाठक, इन्दिरा भट्टराई र बिनु तिम्सिना पुरस्कृत भैसकेका छन् । यस्तै यस संस्थाले यसैवर्षदेखि दिने घोषणा गरेको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार २०७५ इलामका पत्रकार भीम चापागाईंलाई प्रदान गर्ने भएको छ ।
समाजसेवी दिनवन्धु गोयलले आफ्ना दाजुको नाममा स्थापना गरेको यो पुरस्कारको राशी ३१ हजार नगद छ । यो पुरस्कारको लागि समाजसेवी गोयलले तीन लाखको अक्षयकोष पनि खडा गरी सो व्याजबाट प्रत्येक वर्ष आर्थिक क्षेत्रमा कलम चलाउने देशभरिका उत्कृष्ट पत्रकारलाई सम्मान गरिने जनाइएको छ ।
अन्य दुई पुरस्कार चाहिं मोरङ जिल्लामा कार्यक्षेत्र भएका पत्रकारलाई मात्र सम्मान गरिने छ । जसमा मीनादेवी महिला पत्रकारिता पुरस्कार महिला पत्रकारलाई मात्र प्रदान गरिने छ । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरका अध्यक्ष मोहन भण्डारीको अध्यक्षतामा बिहीबार बसेको बैठकले तीनै पुरस्कारको घोषणा गरेको हो ।
तीनै वटा पुरस्कार संस्थाको सातौ स्थापना दिवसको अवसरमा यही २०७५ साल असार २७ गते विराटनगरमा प्रदान गरिने संस्थाका सचिव महाप्रसाद खतिवडाले जानकारी दिए ।