२९ साउन, एजेन्सी ।
जर्मनीको एक खोप केन्द्रमा स्वास्थ्यकर्मीले कोभिड–१९ विरुद्धको खोप भनेर सलाइन पानी दिएको खुलेको छ । बीबीसीका अनुसार कोभिड–१९ विरुद्धको खोपको साटो सलाइन पानी दिएको शङ्कापछि त्यहाँका अधिकारीहरूले ८,००० भन्दा बढी मानिसलाई खोप दोर्होयाउन आग्रह गरेका छन्।
नर्थ सी नजिकै फ्रिसल्यान्डस्थित खोप केन्द्रमा भएको उक्त घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। घटनाबारे सार्वजनिक हुँदा गत मार्च र अप्रिलमा खोप लगाएका छ जनालाई मात्र नुन पानी दिइएको विश्वास गरिएको थियो।
गत अप्रिलमा आरोपित स्वास्थ्यकर्मीले आफूले खोपको बोतल फुटाएपछि छ जनालाई सलाइन दिएको स्वीकार गरेकी थिइन्।
तर प्रहरी अनुसन्धानले उनले फाइजरको खोप लगाउने धेरै मानिसलाई नुनपानी खोप लगाएको पुष्टि भएको जनाइएको छ ।
प्रभावितहरूमध्ये धेरै ७० वर्षभन्दा माथि उमेरका जोखिम समूहका मानिसहरू भएको बताइएको छ। यस घटनामा प्रत्यक्षदर्शीसँग बयान लिने क्रम जारी छ। हालसम्म यस घटनाविरुद्ध कुनै पनि मुद्दा दर्ता गरिएको छैन।
क्षेत्रीय प्रसारक एनडीआरका अनुसार ८,५५७ मानिसहरूलाई पुनः खोप लगाउनका लागि निर्देशन दिइएको छ।
