हिउँचितुवाले मार्दैन मानिस

३१ साउन ७८, सोमबार

काठमाडौँ: सन् १९८० मा त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्रका प्राध्यापक करन शाह जब उपल्लो डोल्पामा गएर हिउँचितुवाबारे अध्ययन सुरु गर्न थाल्नुभयो, त्यतिबेला उहाँको शरीर थरथर काँपिरहेको थियो ।

Advertisement

तराईको पाटे बाघ अनि पहाडको चितुवा जस्तै हिउँचितुवा पनि हिंस्रक होला भन्ने उहाँलाई लागेको थियो । उहाँसँगको अध्ययन टोलीमा रहेका अमेरिकी वैज्ञानिक डा. रेड्नी ज्याक्सन पनि डोल्पाको भूगोल अनि कहिल्यै नदेखेको हिउँचितुवाप्रति निकै डराउनुभएको थियो तर अध्ययनका क्रममा जम्काभेट भएको जति पनि हिउँचितुवा थिए, ती कुनै पनि बाघ जस्तै आक्रामक थिएनन् । बरु लजालु, भलादमी स्वभावका थिए । मान्छे देख्दा लुसुक्क भाग्ने, लुक्ने प्रकृतिका थिए ।

बिरालो प्रजातिका पाटे बाघ, चितुवा, हिउँचितुवा, ध्वाँसे चितुवा, चरीबाघ, जङ्गली बिरालोलगायतका जनावर हिंस्रक हुन्छन् भन्ने सैद्धान्तिक ज्ञान सिकाएका विश्वविद्यालयका प्राध्यापकले हिउँचितुवाको बासस्थानमा गएर उसको आनीबानी, व्यवहार अवलोकन गर्नु र त्यसलाई लिपिबद्ध गर्नु कक्षाकोठामा पढाएजस्तो सजिलो थिएन । त्यति बेलाको अनुभव सम्झँदै प्रा. शाहले भन्नुभयो, “अध्ययन सुरु गर्दै गर्दा हिउँचितुवा जति डरलाग्दो र हिंस्रक होला सोचिएको थियो, त्यो पटक्कै भेटिएन तर ऊ त यति भलादमी र लजालु रहेछ कि हामीले सोचेको भन्दा निकै फरक । हामी देख्दा ऊ लुक्यो, हामी अगाडि बढ्यौँ, ऊ लुसुक्क पर भाग्यो, हामी उसको नजिक पुग्नै थाल्यौँ, ऊ त भीरबाट हामीले नदेख्ने गरी खोल्सीमा झ¥यो । हामीतिर उसले खासै वास्ता गरेन । बाघ, चितुवा भएको भए हामीलाई बाँकी राख्दैनथ्यो होला ।”

Advertisement

उपल्लो मुस्ताङमा हिउँचितुवाको अध्ययन गरेर विद्यावारिधि गर्नुभएका डा. मधु क्षेत्रीको अनुभव पनि प्रा. शाह र डा. ज्याक्सनको जस्तै छ । डा. क्षेत्रीले भन्नुभयो, “हिउँचितुवा नजिकै छ भनेर हाम्रो अध्ययन टोली बिस्तारै हिउँचितुवातिर लाग्दै थियौँ । नजिकै पुगेपछि उसले सुरक्षा खतरा महसुस गरेछ । अकस्मात हामीतिर उठेर आयो । हामी डरायौँ तर ऊ लाज माने जस्तै गरेर फर्केर कुलेलाम ठोक्यो तर त्यो ठाउँमा बाघ, चितुवा भएको भए हामी बाँच्दैनथ्यौँ होला ।”

‘हिमालकी रानी’ भनेर चिनिने हिउँचितुवासम्बन्धी अध्ययनमा संलग्न विज्ञका यी अनुभवले हिउँचितुवा नरभक्षी होइन, बरु लजालु, भलादमी, सुन्दर प्राणी हो, यसले मान्छेलाई मार्दैन भन्ने कुरालाई जोड दिन्छ । पछिल्ला दिनमा हिउँचितुवाको छाला, हड्डी तथा अन्य अङ्गको अवैध व्यापारका लागि मानिसले हिउँचितुवाको चोरी सिकार गर्ने गरेका घटना सार्वजनिक हुँदै आएका छन् ।

Advertisement

प्राणीशास्त्रका प्राध्यापक शाह र डा. क्षेत्रीका दाबीअनुसार विश्वभरि अहिलेसम्म हिउँचितुवाले मानिसलाई मारेको घटना छैन तर जम्काभेट हुँदा मानिस आत्तिएर, भाग्दै गर्दा लडेर घाइतेसम्म भएका घटना बाहिर आएका छन् । प्रा. शाहले भन्नुभयो, “न त नेपालमा, न त विश्वको कुनै पनि मुलुकमा हिउँचितुवाले मानिसलाई आक्रमण गरेर मारेको भन्ने रेकर्ड अहिलेसम्म छैन । बरु यसको छाला, हड्डीलगायतका अङ्गको अवैध व्यापार गर्न भनेर मानिसले बेला–बेला यसको सिकार गरेको देखिन्छ, जुन दुर्भाग्यपूर्ण हो ।”,याे समाचार गाेरखापत्र दैनिकमा लक्ष्मीप्रसाद उपाध्यायले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top