३२ साउन,एजेन्सी ।
विद्रोही तालिबान समूहले अफगानिस्तानमा विजय हासिल गरेको घोषणा गरेको छ । अन्तर्राष्ट्रिय समुदायको समर्थन प्राप्त एवम् २० वर्षसम्म अमेरिका नेतृत्वको सैन्य गठबन्धनको सहयोगमा टिकेको सरकार झुकेपछि तालिबानले विजय हासिल गरेको घोषणा गरेकाे हाे ।
तालिबानका एक जना प्रवक्ताले अलजजिरासँगको कुराकानीमा युद्ध अन्त्य भएको बताएको छ । काबुलमा सूर्योदय भएसँगै चारैतिर तालिबानको सेतो झण्डा फहराएको देखिएको छ । ‘काबुल अराजकतामा गएको छ, स्थानीयबासी र विदेशी नागरिक काबुलबाहिर निस्किन खोजेका छन् ।’– बीबीसीले उल्लेख गरेको छ । एक जना स्थानीय प्रत्यक्षदर्शीका अनुसार काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीले आ-आफ्नो कार्यकक्ष छोडेका छन्, अन्य सयौं ब्यक्ति विमानतर्फ दौडिरहेका देखिन्छन् ।
आइतबार बिहानै काबुलको वरिपरि पुगेका तालिबान लडाकूलाई शहरबाहिर बस्न निर्देशन दिइएको थियो । तर अबेर राति मात्रै तालिबान लडाकू शहरभित्र प्रवेश गरेका थिए । सुरक्षाकर्मीले शहरभित्रको सुरक्षाको जिम्मेवारी छोडेपछि तालिबानका उच्च अधिकारीले अराजकता र लुटपाट रोक्न लडाकूलाई शहरभित्र पठाएको बताएका थिए । लगत्तै तालिबान लडाकू राष्ट्रपति आवासमा पुगेर हतियार प्रदर्शन गरेका थिए । राष्ट्रपति अशरफ घानी काबुल छोडेको केही घण्टापछि तालिबान राष्ट्रपति निवासमा पुगेको थियो ।
राष्ट्रपति घानी छिमेकी राष्ट्र उज्वेकिस्तानको टश्केन्त पुगेकाे जनाइएकाे छ । उनले सामाजिक सञ्जाल फेसबुकमा राजधानी काबुललाई रक्तपातबाट जोगाउन आफू कठिन निर्णयमा पुगेर देश छोडेको बताएका छन् ।
