साउने सोमबार व्रत समापन,पशुपतिमा उल्लेख्य भक्तजन

३२ साउन, काठमाडौँ।

Advertisement

साउन वैदिक सनातन धर्मावलम्बीले साउनको पहिलो सोमबारदेखि महादेवको पूजा आराधनासहित सुरु गरेको व्रत आज विधिपूर्वक गोदान र पूर्णपात्र गरी समापन गरिँदै छ । साउन महिना र त्यसभित्र पर्ने सोमबारलाई शिवजीको महिना एवं बार भनी धर्मग्रन्थमा उल्लेख गरिएकाले यो महिनामा जलधारा मात्र दिए पनि शिवजी प्रसन्न भई इच्छा पूरा गरिदिने र पारिवारिक सुख शान्ति मिल्ने भएकाले सनातन धर्मावलम्बीले व्रत, तथा पूजा पाठ गर्दै आएका हुन् ।

धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्राडा रामचन्द्र गौतम शिवजीले चन्द्रमालाई शिरमा धारण गरेकाले सोमबारलाई शिवजीको बारका रूपमा मानी यस दिन आराधना गर्ने गरिएको बताउँछन् । चन्द्रमाअनुसार साउने सोमबारको व्रत गरे पनि कर्कट राशिमा सूर्य भएका सोमबार विशेष रूपमा शिवजीको आराधना गर्नुपर्ने शास्त्रीय विधि रहेको उनी सुनाउँछन् । यस वर्ष साउनमा ४, ११, १८, २५ र ३२ गते गरी पाँच वटा सोमबार परेकामा आज अन्तिम सोमबार व्रत विधिपूर्वक समापन गर्न लागिएको हो ।

Advertisement

 

Advertisement

नयाँ व्रत सुरु गर्नेले पाँच वटा सोमबार परेको वर्षबाट सुरु गर्नुपर्छ भनिए पनि यो कुरा शास्त्रसम्मत नभएको पूर्व अध्यक्ष गौतमको भनाइ छ । शास्त्रीय मान्यताअनुसार चार वटा सोमबार परेको वर्षदेखि पनि नयाँ व्रतालुले आराधना गर्न सक्छन् ।यो व्रत लिनेले यस लोकमा सुख शान्ति पाउनका साथै परलोकमा सद्गति मिल्ने शिव पुराणलगायत धर्मग्रन्थमा उल्लेख छ । साउने सोमबार र तिजको हरितालिका व्रत महिलाले मात्र लिनुपर्छ भन्ने व्यवहारमा देखिए पनि शास्त्रीय मतानुसार महिला पुरुष दुवैले यो व्रत गर्नुपर्छ । प्रायः महिलाले परिवारमा सबैको प्रतिनिधित्व गरेर व्रत बस्ने गरेका हुन् ।

धेरैले शिवजीको महिना भनी साउनमा मांस र मदिरा सेवन गर्दैनन् । शिवजीलाई जलधारा प्रिय हुने भएकाले यस महिनामा पवित्र तीर्थस्थलबाट जल लगेर पशुपतिनाथलगायत शिवालयमा चढाउने भक्तजनको भीड लाग्ने गर्छ तर यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमणको जोखिम कायमै रहेका कारण बोल बम यात्रा भने विगत वर्षजस्तो हुन सकेन । भक्तजनले जल ल्याई पशुपतिमा चढाउन नपाए पनि फाट्टफुट्ट रूपमा खुला रहेका शिवालयमा भने चढाएका छन् ।

वाग्मती मुहान क्षेत्र सुन्दरी जलबाट पशुपतिसम्म बोल बम गरी जल चढाउने गरिएकामा यस वर्ष कोरोनाकै कारण सम्भव भएन । भोलेनाथ काँवरिया तथा बोल बम काँवरिया सङ्घलगायत संस्थाले यस वर्ष बोल बम काँवर यात्रा स्थगित गरेका थिए । धेरैजसोले घरमा प्रत्येक वर्ष साउनको कुनै एक दिन वैदिक रुद्राभिषेकसमेत गर्ने गर्छन् ।

साउनमा विशेष भीड लाग्ने पशुपतिनाथ मन्दिरलगायत ठुला शिवालय यस वर्ष कोरोनाको त्रासका कारण बन्द गरिएकाले भक्तजनले बन्द रहेको पशुपति मन्दिर परिसरबाटै दर्शन गर्दै आएका छन् । आज अन्तिम सोमबार पशुपति परिसरमा बिहानैदेखि उल्लेखनीय रुपमा भक्तजनको भीड लागे पनि मूल मन्दिरभित्र स्वास्थ्य सुरक्षाकै कारण प्रवेश गर्न नदिइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिए ।

गोकर्णेश्वर र नागेश्वरमा भीड

राजधानीको उत्तर पूर्वी भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा पनि भक्तजनको भीड देखिन्छ । मन्दिरमा भौतिक दूरी कायम गरी स्वास्थ्य र सुरक्षाका मापदण्ड अपनाएर दिउँसो एक बजेसम्म दर्शन गर्न व्यवस्था मिलाइएको मन्दिर क्षेत्र प्रबन्ध समितिले जनाएको छ । काठमाडौँ महानगरपालिका–३२ स्थित नागेश्वरी महादेव मन्दिर परिसरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझी बताउनुहुन्छ । यसै गरी उपत्यकाकालगायत देशभरका अन्य शिवालयमा पनि भक्तजनको भीड लागेको छ ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top