बाढी र कटानको डरले तीन महिना रातभरि जागै

३२ साउन ७८, मंगलबार

कैलाली: कैलालीको भजनी नगरपालिका–५ लालबोझीनजिकै बग्ने कान्द्रा नदी मानव बस्तीसम्मै आइपुगेको छ । बस्तीका केही घरकै आँगनमा पानी पुगिसकेको छ । आफ्नो घर आँगनमै कान्द्रा नदी पुग्न लागेको दृश्य एकोहोरो हेरिरहेकी लक्ष्मी चौधरीले भनिन्, ‘आँगनमै नदी पुग्न लागिसक्यो, नदी कटान रोक्न कतैबाट पनि पहल हुँदैन ।’

Advertisement

लक्ष्मीले हरेक वर्षा याममा यस्तै दृश्य देख्दै भोग्दै आएकी छन् । कान्द्रा नदीको कटानका कारण हरेक वर्ष दर्जनौं परिवार विस्थापित हुने गरेका छन्। धानबाली लगाएको सयौं बिघा जमिन डुबानमा पर्ने गरेको छ । हरेक वर्ष कान्द्रा नदीको कटान र घरपरिवारको विस्थापन देखेकी लक्ष्मीले विरक्त हुँदै भनिन्, ‘घरबास नदीले कटान गरे कहाँ बस्ने होला?’

लालबोझीका लक्ष्मण चौधरी नदीको बहावले खाल्टाखुल्टी बनाएको ठाँउमा खुट्टाले छामेर खाल्डा पुर्ने प्रयासमा थिए । उनले भने ‘नदीले गर्दा बाटो निकै कमजोर भएको छ । हिलाम्मे बाटोमा बच्चा हिँड्दा कहिलेकाहीँ धस्सिन सक्छन् । त्यसैले यो गरिरहेको छु ।’

Advertisement

भगतपुर बस्तीमा पसल गर्ने विपदराम चौधरी केही स्थानीयसँगै कान्द्रा नदीको कटान रोक्न नदीमा माटो हालिरहेका थिए । नदीको बहाव बढेसँगै धार परिवर्तन गर्दा कटान हुनबाट रोक्न उनीहरूले माटो भरिरहेको बताए । विपदरामले भने, ‘नदीको आवाज आयो र बहाव हेर्दा बढेको थियो । कटान हुन नदिन माटो ल्याएर सम्सम्याइरहेका छौं ।’

भजनी नगरपालिकाको पूर्वतर्फ कर्णाली नदी बग्छ । दक्षिणमा मोहना नदी छ । उत्तरबाट कान्द्रा, काँडा र पथरैया नदी बग्छन् । बीचमा भजनी नगरपालिका छ । हरेक वर्षायाममा केही बेर अविरल र भारी वर्षा हुँदा नगरपालिकाका अधिकांश स्थानीय आत्तिन्छन् ।

Advertisement

‘चारैतिर नदी नै नदी भएपछि वर्षायाममा सुरक्षित हुने कुरै भएन,’ भजनी नगरपालिका–४ का प्रविन चौधरीले भने, ‘हरेक वर्ष वर्षा याम सुरु हुनेबित्तिकै बाढीको चिन्ताले तर्साउँछ । तीन महिना राम्ररी सुत्नै सक्दैनौं । रातभरी जागै बस्नुपर्छ ।’

कुनै पनि सरकारले नदी कटान रोक्न पहल नगरेको उनको गुनासो छ ।,याे समाचार आजको राजधानी दैनिकमा दीपक ओलीले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top