काबुलबाट फर्किएका नेपाली भन्छन्–अवस्था दर्दनाक छ, नेपालीको उद्दार होस्

१ भदौ, काठमाडौँ ।
अफगानिस्तानबाट १२७ जना नेपाली स्वदेश फर्किएका छन् । अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि त्यहाँस्थित अमेरिकी दूतावासमा रहेका १२७ जना नेपालीलाई अमेरिकी सरकारले उद्धार गरेर नेपाल पठाएको हो ।

Advertisement

उनीहरु अफगानिस्तानको राजधानी काबुलबाट दोहा, कुबेत हुँदै मंगलबार बिहान काठमाडौं आइपुगेका हुन् । अफगानिस्तानबाट स्वदेश फर्किएका नागरिकहरुले अमेरिका दूतावासमा रहेका कारण आफूहरुलाई समस्या नभएको प्रतिक्रिया दिएका छन् । धनगढीका कृष्ण तामाङले बाहिर समस्या भए पनि अमेरिकी दूतावासमा कुनै समस्या नभएकोले गाह्रो नभएको बताए । उनले अमेरिकी दूतावासमा अन्य स्थानको भन्दा सुरक्षित रहेको बताए । उनले भने, बाहिर÷बाहिर समस्या थियो होला, हामी सेभ थियौँ, अमेरिकी एम्बेसी भएकाले यहाँको भन्दा सेभ थियौँ ।

त्यसैगरी अफगानिस्तानमा ३ वर्षदेखि काम गरिरहेका र आजै स्वदेश फर्किएका अर्का नेपाली प्रकाश श्रेष्ठले बाहिरको अवस्था असहज रहेको बताए । उनले दूतावासमा रहेकालाई स्वदेश फर्किउन्जेल केही नगर्ने भनिएकोले त्यति गारो असहज नभएको बताए । उनले भने, “बाहिरी एरियामा अहिल गाह्रो छ, भित्र एम्बेसीमा केही गर्दैनौ तपाईहरु स्वदेश फर्किउन्जेल भनेको थियो, यूएस एम्बेसीमा रहेका सबै नेपाली आयौँ, अफगानिस्तनामा अझै कति नेपाली हुनुहुन्छ त्यो यकिन थाहा छैन, हामीलाई यूएस एम्बेसीले नै ल्याएको हो, नेपालीहरु सबै सुरक्षित नै छन्, यूएस आर्मीको हेलिकप्टरले रेस्क्यू गरेर एयरपोर्टसम्म ल्याउने काम गरिहेको छ ।”

Advertisement

त्यस्तै स्याङ्जाका इन्द्र पौडेलले आफू एम्बेसीमा रहेकोले बाहिरका नेपाली साथीहरुको बारेमा खासै जानकारी नरहेको बताए । उनले नेपाल सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउने पहल गरिदिए राम्रो हुने बताए । त्यहाँको अहिलेको अवस्था एकदमै दर्दनाक र सुन्नै नसकिने रहेको जानकारी दिए । उनले भने, “बाहिरका साथीहरुको बारेमा खासै जानकारी भएन, तपाईहरुले पहल गरिदिए उहाँहरुलाई सजिलो हुन्थ्यो, कोही किड्न्याप भएको भन्ने कुराहरु पनि आएको छ, आधिकारिक रुपमा सुनेको छैन, एकदमै दर्दनाक, सुन्नै नसकिने र देख्नै नसकिने अवस्था छ, त्यहाँबाट फर्किंदा नै धेरै राम्रो छ ।”

Advertisement

उनले काबुलमा आफू बाध्यताले जानु परेको भन्दै त्यस्तो ठाउँमा नजाँदा नै राम्रो हुने सल्लाह दिए । अफगानिस्तानमा तालिबानले सत्ता लिएपछि त्यहाँ रहेका विदेशीहरु स्वदेश फर्किने क्रम जारी रहेको छ । अमेरिकी दूतावासले उद्धार गरेर नेपाल फर्काएका १२७ जना नेपाली नेपाली सेनाले क्वारेन्टाइनका लागि सामाखुसीस्थित राधास्वामी सत्संग लगेको छ । त्यहाँ आरटीपीसीआर परीक्षणपछि क्वारेन्टाइनको अवधि सकिएसँगै उनीहरुलाई घर पठाउने सरकारको योजना छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top