गाईजात्रा : थाकेको शरीरमा ऊर्जा भर्ने बागलुङको ‘लाखे नाच’

६ भदौ ७८, सोमबार

७ भदाै, बलेवा।
हा…हो….इ..गाई भैँसीलाई किलो दाम्लो…
बाखरीलाई खोर साईंलो…

बारीमा लगाएको कोदो गोडमेल गर्ने बेला दक्षिण बागलुङका गाउँमा सुनिने भदौरे गीत हो यो । भदौरे गाउँदै कोदो गोडमेल सकेपछि किसान धानखेतको गोडमेलमा लाग्छन् । स्थानीय भाषामा धानखेतको बुट्टा (साझ जङ्गलका ससाना मुना) फालेपछि याद आउँछ बलेवाको लाखे नाच अर्थात् गाईजात्रा । यहाँ आज गाईजात्राका दिन गरिने नाच हो लाखे नाच ।

तिथिका आधारमा हुने हिन्दू संस्कारका चाडपर्व । चाडपर्वसँग जोडिएका लाखे नाच र गाईजात्रा अधिकांश वर्षमा खेतबारीको काम सकेपछि सुरु हुन्छन् । बर्खाको समयमा खेती लाउने कठिन काम, थाकेको शरीर, शिथिल मानसिकतालाई ऊर्जा भर्ने पर्वका रुपमा बलेवामा लाखे नाच गर्ने गरिन्छ । देशभर गाईजात्रा मनाइने आजकै दिन यहाँ गरिने यो नाच पनि एक किसिमको गाईजात्रा नै हो ।

“घरको काम सकेपछि बलेवा चौरमा लाखे नाचेको हेर्न र गाईजात्रा हेर्न वरिपरिका गाउँबाट भीड नै लाग्थ्यो”, बाल्यकाल सम्झँदै नारायणस्थानका वडाध्यक्ष चक्रबहादुर खत्री भन्छन्, “उ बेलाको मनोरञ्जन लिने भनेकै यिनै नाच थिए, साथीभाई भेट्ने थालो बन्थे, अहिले जस्तो सञ्चारका साधन, युटुब र मोबाइल थिएनन्, रमाइलो गर्न सबै काम छोडेर चौरमा जम्मा भइन्थ्यो ।” गाईजात्रा र लाखे नाचेको हेर्न पल्टनबाट फर्किएको स्मरण गर्छन् खत्री ।

बागलुङ नगरपालिका–१४ नारायणस्थानमा नेवार हटिया छ । नेवार समुदायले व्यापार गर्ने थलोलाई हटिया भनिन्छ । भक्तपुरबाट देशका विभिन्न ठाउँमा छरिएका नेवार समुदाय जस्तै बलेवामा पनि भक्तपुरबाटै आएका हुन् । नेवार समुदायसँग जोडिएको लाखे नाच र गाईजात्रा बलेवा क्षेत्रका पनि संस्कृति हुन् ।

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ । तर यस वर्ष भने बलेवामा नै कोरोना ‘हट स्पट’ बनिरहेकाले न लाखे नाच भयो र नत गाईजात्रा नै ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन यहाँका नेवार समुदायले गाई वा बाँसको डोकोलाई गाईका रूपमा सिँगारी नारायणस्थानमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा छ । मृतक पुरुष भएमा पुरुषको पहिरन लगाएर बहर र महिला भएमा महिलाका पहिरन लगाएर गाई निकाल्ने प्रचलन छ ।

पहिले पहिले गाई र बहर नै निकाल्ने यहाँका नेवार समुदायले पछिल्लो सयम भने बाँसको डोकोलाई गाईको स्वरुप मान्ने गरेका छन् ।

यसरी परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । देशभरका नेवार समुदायको जस्तै बलेवाका नेवार समुदायको पनि मृतकका घरबाट गाई निकाल्ने समान संस्कृति रहेको नारायणस्थानका समाजसेवी नगेन्द्रध्वज श्रेष्ठ बताउँछन् ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आआफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ ।

भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा बलेवामा नाग नागिनी नाच, झुमा नाच र अन्य प्रहसनसमेत गर्ने चलन छ । “गाईजात्रामा ठट्टा गरिन्छ, मृत्यु भएका परिवारका लागि सान्त्वना दिन गाईजात्रामा सामेल सबैले रमाइलो गर्ने चलन हाम्रोमा छ”, बलेवाको नेवार समुदायका अगुवा हरिकुमार श्रेष्ठले भने, “अन्यत्रकोभन्दा हाम्रोमा नाच गान र व्यङ्ग्यको प्रकृति फरक छ ।” अष्टमीका दिन रोपाइँ नाच नाचेपछि गाईजात्रा विधिपूर्वक समाप्त हुन्छ ।

तत्कालीन बलेवा कोटमा पर्ने गाउँमा भदौको पहिलो मङ्गलबार हरेलो (भूमि पूजा) गर्ने चलन छ । यहाँका नेवार समुदायले नचाउने लाखे हरेलोदेखि तीजको दिनसम्म पर्वका समयमा नचाउने नेवारी परम्परा रहेको नेवार समुदायका युवा नारायण श्रेष्ठले बताए ।

“हरेलो, जनैपूर्णिमा र तीजमा पनि लाखे नचाउने चलन थियो रे”, श्रेष्ठ भने, “पछि तीजमा गाउने नाच्ने संस्कृति जुधेपछि तीजको दिन लाखे नाच्न छोडेको बुवाले सुनाउनुभएको थियो ।” शहरमा नेवार समुदायको संकृतिका रुपमा मात्रै रहेको भए पनि बलेवामा भने संस्कृतिसँगै पुराना पुस्ताको मनोरञ्जनको थलो गाईजात्रा र लाखे नाच भएको श्रेष्ठ बताउँछन् । सांस्कृतिकरुपमा हुने पूजाआजा र गाईजात्राबाहेकसँगै गाइने गीत र नाचले बलेवामा रहेको नेवारी संस्कृतिको फरकपन झल्काउँछ ।

बलेवाको गाईजात्रा र लाखेनाच हेर्न पुगेर फर्किंदा कैयौँ युवायुवती प्रेममा फसेर बिहेबारी हुने गरेका किस्सा पनि पुराना पुस्तामा छन् । यहाँ गाईजात्रा हेर्नका लागि अमलाचौर, पैँयुपाटा, कुश्मीशेरा, पर्वतको फलेवासलगायतका ठाउँबाट गाउँले पुग्छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top