११ भदौ, काठमाडौँ ।
अफगानिस्तानको राजधानी काबुल विमानस्थलबाहिर भएको विस्फोटमा ६० जना भन्दा बढीको मृत्यु भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले आतंकवादीहरुलाई नछाड्ने चेतावनी दिएका छन्।
विस्फोटमा अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको मृत्यु भएको खबरले दुःखी भएको बताउँदै उनले घटनमा संलग्नविरुद्ध कडा कारबाहीको चेतावनी दिएका हुन् । उनले अफगाननिस्तानबाट अमेरिकी हवाई उद्धार कार्य जारी रहने जनाएका छन् ।
राष्ट्रपति बाइडेनले भनेका छन्, ‘हामी माफी दिने छैनौँ । हामी आतङ्कवादीहरूसँग डराउने छैनौँ । घटनामा संलग्नलाई खोजेरै सजाय दिने छौँ ।’
उनले यस्ता आतंकवादी हमलाबाट अमेरिका विचलित नहुने र उद्धार जारी रहने स्पष्ट पारेका छन् । स्थानीय समअनुसार साँझ ६ बजे विमानस्थलको गेट र विमानस्थल नजिकै रहेको बारोन होटल आसपास विस्फोट भएको जनाइएको छ ।
विमानस्थलको गेटमा विस्फोट हुँदा त्यहाँ धेरै अफगानी शरणार्थीहरु रहेको थिए । उक्त होटलमा बेलायती अधिकारीहरुले बेलायत जान चाहने अफगानीहरुको कागजी प्रक्रियाका लागि प्रयोग गरिरहेका बेला विस्फोट भएको बीबीसीले जनाएको छ ।
रक्षा मन्त्रालयल यस हमलामा बेलायती सुरक्षाकर्मी र आफ्ना नागरिक सुरक्षित रहेको जनाएको छ । दुईवटा विस्फोटमा उनीहरुको ज्यान जानुका साथै १४० भन्दा बढी घाइते भएको अफगानिस्तान स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
पेन्टागन प्रवक्ता जोन कीर्बीलेले पनि काबुल विमानस्थलमा भएको विस्फोटमा अमेरिकी नागरिकको मृत्यु भएको पुष्टि गरेका छन् ।
