१२ भदौ, एजेन्सी ।
अफगानिस्तानको काबुलमा कठिन अवस्थामा मानवीयताका हिसावले उद्धार अभियानमा जुटेको अमेरिका लक्षित वम विष्फोट गराएपछि इस्लामिक स्टेट खोरसान अर्थात आईएस–केविरुद्ध अमेरिका क्रुद्ध भएको छ । वम विष्फोटमा आफ्ना नागरिक गुमाएको अमेरिकाले कुनैपनि हालतमा आक्रमणको बदला लिने चेतावनी दिएको केही घण्टाकै अन्तरालमा आक्रमणका मुख्य योजनाकारलाई मार्न सफल भएको दावी गरेको छ ।
बिहीबार काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा आत्मघाती विस्फोट गराएर आफ्ना नागरिकसहित सयौंको ज्यान लिने आईएस–केविरुद्ध अमेरिकाले बदला लिन सुरु गरेको छ । शुक्रवार अमेरिकी राष्ट्रपति जो बाइडनले बिहीवारको आत्मघाती आक्रमणमा संलग्न जिहादीलाई अमेरिकाले नछाड्ने बताएका थिए । अमेरिकाले अफगानिस्तानको नाङ्गाहार प्रान्तमा इस्लामिक स्टेटका लडाकुलाई लक्षित गरी ड्रोन आक्रमण गरेको छ । अमेरिकाले काबुल आक्रमणको ४८ घण्टापछि उक्त आक्रमण गरेको हो ।
अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार राष्ट्रपति जो बाइडेनको स्वीकृतिपछि अमेरिकी सेनाले आक्रमण गरेको हो । अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन बिल अर्बनले नाङ्गाहार प्रान्तमा मानवरहित हवाई आक्रमण गरेको पुष्टि गरेका छन् । वक्तव्य जारी गर्दै उनले भनेका छन्, ‘अफगानिस्तानको नाङ्गाहार प्रान्तमा मानवरहित हवाई आक्रमण भएको छ । सुरुवाती रिपोर्टअनुसार टार्गेट मारिएका छन् ।’
सो आक्रमणमा आइएसका एक सदस्य मारिएको अमेरिकी सैनिक अधिकारीले बताएका हुन् । मारिने व्यक्ति गएको बिहीबार काबुल विमानस्थलमा १३ अमेरिकी सैनिकसहित १७० भन्दा बढीको ज्यान जाने गरि भएको आक्रमणका योजनाकार रहेको दाबी छ । तर आक्रमणमा सर्वसाधारणलाई भने कुनै क्षति नभएको बताइएको छ ।
इस्लामिक स्टेट समूहको एउटा तल्लो सङ्गठनका रूपमा रहेको उक्त समूह अफगानिस्तानको सबैभन्दा उग्र र हिंसात्मक जिहादी लडाकु समूह हो । सो समूहले काबुल विमानस्थल बाहिर रहेको महिला, पुरुष र बालबालिकाको भिडमा आत्मघाती विस्फोटन गराएको थियो । देश छाड्ने प्रयासमा रहेका दर्जनौँ अफगान नागरिक मारिएका थिए । अमेरिकी फौजबाहेक दुई ब्रिटिस नागरिक र ब्रिटिस नागरिकका एक सन्तान पनि आक्रमणमा मारिएका थिए । देश छाड्न आतुर अफगान नागरिकको बर्हिगर्मन प्रक्रियामा सघाउन अझै पनि करिब ५,००० अमेरिकी फौज काबुल विमानस्थलमा खटिएका छन् ।
अफगानिस्तानमा तालिबानले सत्ता हातमा लिएपछि अमेरिकालगायतका मुलुकले लगातार उद्धार कार्य गरिरहेको छ । शुक्रबार मात्रै ४ हजार २ सयको उद्धार गरिएको छ । बिहीबार पनि करिब ७ हजार ५ सयको उद्धार गरिएको थियो । ह्वाइट हाउसका अनुसार अगस्ट १४ देखि यता अमेरिकाले १ लाख ९ हजारभन्दा बढीको उद्धार गरेको छ । यसैबिच काबुलस्थित अमेरिकी दूतावासले सुरक्षा सचेतना जारी गर्दै काबुल विमानस्थलको गेट आसपासमा रहेका आफ्ना नागरिकसहितलाई तत्काल सुरक्षित स्थानमा जान भनेको छ । यता तालिबान अधिकारीहरूले भने काबुल विमानस्थलको मुख्य भाग आफूले नियन्त्रणमा लिएको र अमेरिकीहरू जाने बित्तिकै सम्पूर्ण विमानस्थल कब्जामा लिने बताएका छन् । बीस वर्ष तालिबानविरुद्ध लडेको अमेरिकाले उसैसंग द्वीपक्षिय सम्झौता गरेर अफगानिस्तान छोडेपछि अब भने तालिबानलाई नै साथ लिएर आईएसलगायतका अन्य आतंकबादी समूहसंग युद्ध गर्ने संकेत गरेको छ । यद्यपि तालिमानलाई हेर्न दृष्टिकोण भने अमेरिकाले अहिलेसम्म तय गरिसकेको छैन् ।










