विराटनगर,असार ३०
सामुदायिक विद्यालय तथा मदर्साबाट एसईई पास गरेका ६ दर्जन बढी विद्यार्थीलाई विराटनगरमा सम्मान गरिएको छ । विराटनगर–६ स्थित सहबाजिया टोल संगठनले स्थानिय दूइटा मदर्सा र एक विद्यालयबाट एसईई परीक्षा २०७४ मा पास भएका विद्यार्थीहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा सरौचियास्थित मदर्सा सहबाजियाका १८ जना,जामिया इस्लामियाका २२ जना र शिक्षा सदन आधारभूत विद्यालयका ३८ जना समेतगरि ७८ जना विद्यार्थीलाई सम्मान गरिएको आयोजक टोल संगठनका अध्यक्ष मोहम्मद अफजल हुसैन गुल्जारले जानकारी दिए । सो क्रममा विद्यार्थीहरुलाई एक थान ब्याग र सम्मानपत्र प्रदान गरिएको थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य हसन अंसारी,प्रदेश सभा सदस्य केदार कार्की सहित स्थानिय वडाका प्रतिनिधिले विद्यार्थीहरुलाई सम्मानपत्र र ब्याग हस्तान्तरण गरेका थिए । एसईई पास गरेका विद्यार्थीको मनोबल थप बढाउन कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका सल्लाहकार फिरोज खानले जानकारी दिए ।