२७ भदौ, काठमाडौं ।
संसद बैठक अवरुद्ध पारिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुलाई सभामुख अग्नि सापकोटाले अरु सांसदहरुको अधिकारको पनि ख्याल गर्न आग्रह छन्।
प्रतिनिधि सभाको नवौं अधिवेशनअन्तर्गत आइतबारको बैठक सुरु भए लगत्तै बेल घेरेर नाराबाजी गरिरहेका एमाले सांसदलाई सभामुख सापकोटाले संवादमा आउन पनि आग्रह गरे।
सभामुख सापकोटाले अरु सांसदहरुको अधिकारको ख्याल गर्न भन्दै सांसदहरुले बोल्ने अधिकारका लागि वातावरण बनाइदिन पनि आग्रह गरे।
‘आफ्नो अधिकारको कुरा गर्दा अरुको अधिकारको पनि ख्याल गर्नुपर्छ, अरु सांसदहरूले पनि बोल्ने अधिकारका लागि वातावरण बनाइदिनुहोस्,’ सभामुख सापकोटाले रोष्टमबाट आग्रह गरे, ‘आफ्नो अधिकारको कुरा गर्दा अरुको अधिकारको पनि ख्याल गर्नुहोस्।’ उनले बैठक सञ्चालन गर्नका लागि सबै दलका नेता र सांसदहरूलाई वातावरण बनाउन आग्रह गरे।
सभामुख सापकोटाले संविधान र नियमावलीअनुसार संसद सञ्चालन गर्नुपर्ने र जनताका मुद्दाहरुमा छलफल गर्नुपर्ने भन्दै अवरोध फिर्ता लिन आग्रह गरे।
उनले सर्वोच्च अदालतमा विचाराधीन रहेको एकिृकत समाजवादी पार्टीका सांसदहरुको विवादबारे संसदमा छलफल र अवरोध हुन नसक्ने भन्दै एमाले सांसदहरुलाई पटक–पटक आफ्नो स्थानमा बसेर संसद सुचारु गर्ने वातावरण बनाउन आग्रह गरे।
सभामुख सापकोटाले यस्तो आग्रह गरिहँदा एमाले सांसदहरुले भने नाराबाजी जारी राखेका थिए। एमाले सांसदको नाराबाजी नरोकिएपछि सभामुख सापकोटाले बैठक १५ मिनेट का लागि स्थगित गरेका छन्।