२ असाेज, काबुल ।
तालिबानी विद्रोहीले राजधानी काबुलमा कब्जा जमाएपछि बन्द रहेका विद्यालय करीब एक महिनापछि खुल्न थालेका छन् । अफगानिस्तानको शिक्षामन्त्रालयले दिएको जानकारी अनुसार छात्रहरूले अध्ययन गर्ने माध्यमिक, उच्च माध्यमिक र धार्मिक विद्यालय (मदरासा) हरू शनिबारदेखि सञ्चालनमा आएका छन् ।
मन्त्रालयले सरकारी तथा निजी दुवै विद्यालयका छात्रहरू र पुरुष शिक्षकहरूलाई शनिबारदेखि नियमित अध्ययन-अध्यापनमा फर्किन आग्रह गरेको छ। यहाँका प्राथमिक विद्यालय अघिल्लो हप्तादेखि सञ्चालनमा आएका छन् भने सकारी विश्वविद्यालय भने बन्द छन् ।
तालिबानले अहिलेसम्म छात्रा लागि पठनपाठन हुने या नहुने केही बोलेको छैन। यस्तो अवस्थामा तालिबान सत्तामा आएपछि घरका पर्खालहरुमा थुनिएका महिला शिक्षिका र विद्यार्थीहरुको भविष्य के हुने हो अझै स्पष्ट हुन सकेको छैन।
दुई दशक पहिले अफगानिस्तानमा तालिबान सरकार हुँदा महिलाहरुलाई एक पुरुष बिना घर छोड्न प्रतिबन्धित लगाइएको थियो। यता, युनिसेफले तालिबानले छात्र लागि विद्यालय खोल्ने निर्णयको स्वागत गरेको छ। तर, छात्राहरुलाई शिक्षाबाट टाढा राख्नु नहुने बताएको छ।
