विराटनगर,साउन १
साउनदेखि नेपालमा विभिन्न बस्तुको भाउ बढेको छ । सरकारले गएको जेठमा गरेको बजेट भाषणमा उल्लेख गरेका प्रावधान साउन १ देखि लागू हुँदैछन् ।
सरकारले चुरोट, रक्सी लगायतमा लाग्ने अन्तशुल्क बढाउने, भन्सार महशुल बढाउने, मूल्य अभिबृद्धि कर, सडक मर्मत तथा सुधार दस्तुर, करको दायरामा आउनेलाई शुल्क र ब्याज मिनाहा तथा अटेरी गर्नेलाई जरीवाना गर्ने भएको छ । त्यसैको प्रभावले मोटरसाइकल तथा गाडी, चुरोट रक्सी लगायतको भाउ पनि बढिसकेको छ ।
त्यस्तै आजबाट दूरसञ्चार सेवा दस्तुर १३ प्रतिशतले बढेकाले उपभोक्ताले इन्टरनेटमा थप पैसा तिर्नुपर्ने भएको छ भने नयाँ फोन जडान गर्दा पनि थप १ हजार रुपैयाँ शुल्क लाग्नेछ । कार, जिप भ्यान लगायतका गाडी किन्दा मूल्यको १० प्रतिशतसम्म रजिष्ट्रेशन शुल्क तिर्नुपर्ने भएको छ ।
त्यस्तै मोटरसाइकलको मूल्यमा अब १ सय ५० सीसीसम्मको मोटरसाइकलले १५ हजार, २ सय ५० सीसीसम्मको मोटरसाइकलको १८ हजार, ४ सय सीसीसम्मको ५० हजार र त्यसभन्दा माथि २ लाख रुपैयाँसम्म रजिष्ट्रेशन शुल्क तिनुपर्ने भएको छ । यस्तैगरी क्यासिनो चलाएबापत ४ करोड र मेसिनबाट खेलाइने क्यासिनोमा थप १ करोड गरी ५ क्यासिनो रोयल्टी ५ करोड रुपैयाँ पुगेको छ । य
स्तै नेपालभित्र सडक निर्माणको लागि सवारी दर्ता गर्दा पनि अब शुल्क तिर्नुपर्ने भएको छ । यस्तै पेट्रोलियम पदार्थमा प्रतिलिटर ५० पैसाका दरले प्रदुषण नियन्त्रण शुल्क पनि बढेको छ । अहिले सामाजिक सुरक्षाका लागि १ प्रतिशतबाहेक सरकारले वर्षमा २५ लाख रुपैयाँसम्म कमाउने व्यक्तिबाट २५ प्रतिशतसम्म आयकर लिंदै आएको छ ।
मंगलबारदेखि सामाजिक सुरक्षाको १ प्रतिशत बाहेक १०, २० र ३० प्रतिशतको दरले आयकर तिर्नुपर्ने छ । अब वर्षमा ७ लाख रुपैयाँसम्म कमाउने व्यक्तिले अहिले तिर्दै आएको करमा वर्षमा झण्डै १५ हजार रुपैँया छुट पाउनेछन् ।