६ असाेज, काठमाडौं ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को मन्त्रिस्तरीय बैठक स्थगित भएको छ । सार्क सचिवालयले मंगलबार सबै सदस्य मुलुकलाई पत्र लेखेर स्थगित भएको जानकारी दिएको हो ।
सदस्य मुलुक नआउने निश्चित भएपछि परराष्ट्र मन्त्रालयको आग्रहमा सचिवालयले सदस्य मुलुकलाई पत्र लेखेको जनाइएकाे छ । परराष्ट्र जारी राष्ट्रसंघीय महासभामा यो वर्ष सार्कको साइडलाइन बैठक हुनेछैन ।
वर्षेनी राष्ट्रसंघीय महासभाको साइडलाइनमा सार्कको अनौपचारिक मन्त्रिपरिषद् बैठक हुने परम्परा छ । तर, अफगानिस्तानमा सिर्जित नयाँ संकटपछि भारत लगायतका मुलुकले सहभागि नहुने जानकारी सचिवालयलाई दिएका हुन् ।
सार्क बैठक नहुने भएपछि परराष्ट्रमन्त्रीले अब नेपालको तर्फबाट राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्ने भएका छन् । स्रोतका अनुसार असोज ११ गतेको छेकोमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
परराष्ट्रमन्त्री आएपछि प्रधानमन्त्रीले महासभालाई सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको परराष्ट्र मन्त्रालय स्राेतले जनाएकाे छ । अब परराष्ट्रमन्त्रीको नेतृत्वमा परराष्ट्रसचिव भरतराज पौड्याल, राष्ट्रसंघीय नियोगका एक सहसचिव र एक अधिकृत सहभागि हुने नेपाली प्रतिनिधिमण्डल न्यूयोर्क प्रस्थान गर्नेछ ।
