६ असाेज, काठमाडौँ ।
स्ट्राइकर विमल घर्ती मगरले थ्री स्टार क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने भएका छन् ।
आसन्न ‘ए’ डिभिजन लिगका लागि विमल र थ्री स्टार सम्झौताको नजिक पुगेका हुन् । थ्री स्टारले आसन्न प्रतियोगिताका लागि उनलाई सम्झौताको प्रस्ताव गरिसकेको छ भने विमलले पनि मौखिक सहमति जनाइसकेका छन् ।
विमल र क्लबबिच केही साताभित्रै सम्झौता हुने बताइको छ । उनी नेपाल फर्किएपछि क्लबबाट लिग खेलाउने प्रयास भइरहेको छ । क्लबले विमललाई एक सिजन ‘ए’ डिभिजन लिग र राष्ट्रिय लिगसम्मका लागि अनुबन्धको तयारी गरेको हो । जसका लागि पारिश्रमिकका बारेमा टुङ्गो लाग्न बाँकी छ । विमल हाल घुँडाको शल्यक्रियापछि कतारमा आराम गरिरहेका छन् ।
चौध वर्षको उमेरमा बङ्गलादेशविरुद्धको मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टोलीमा स्थान बनाउँदै आएका विमलले राष्ट्रिय टोलीका लागि नौ गोल गरिसकेका छन् ।