विराटनगर, साउन १०
युरोप भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले तेस्रो अभ्यास खेलमा जीत हात पारेको छ । दोस्रो अभ्यास खेलमा पराजित भएको नेपाल तेस्रो अभ्यास खेलमा इष्ट लण्डन ११लाई २२३ रनले पराजित गरेको हो ।
टस हारेर पहिला व्याटिङ गरेको नेपालले निर्धारीत ५० ओभरमा ८ विकेट गुमाएर ३३८ रन बनाएको थियो । नेपालका लागि अनिल कुमार साहले शतकीय पारी खेले । उनले ११८ बलमा १३१ रन जोडेका हुन् ।
यस्तै शरद भेषवाकरले ९८ रन जोड्दा सोमपाल कामीले २९ रन जोडे । इष्ट लन्डनका अर्शलान खानले ३ तथा नविल अजिजले २ विकेट लिएका थिए । ३३९ रनको विशाल लक्ष्य लिएर मैदान आएको इष्ट लण्डन ३८.५ ओभरमा अल आउट हुँदै ११५ रन बनाएको थियो ।
नेपालका लागि शक्ति गौचनले ४, करन केसी र ललितनारायण राजबंशीले दुई दुई विकेट लिए । यसैगरी सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान एक/एक विकेट लिए ।
इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी–ट्वान्टी सिरिज र नेदरल्याण्डसंगको एकदिवसीय क्रिकेट सिरिजको लागि युरोपमा रहेको नेपाली टोलीले तेस्रो अभ्यास खेल खेलेको हो ।