नम्बरप्लेट स्पष्ट नदेखिए पनि कारवाही, २१९ मोटरसाइकल नियन्त्रण

२० असोज ७८, बिहीबार

२१ असाेज, काठमाडौं।

Advertisement

महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट स्पष्टरूपमा नदेखिने गरी सवारी साधन सञ्चालन गर्ने चालकलाई कारबाही थालेको छ ।

दुर्घटना हुँदा यस्ता सवारी साधन भाग्नसक्ने भएकाले स्पष्ट र बुझिने गरी नम्बर प्लेट राख्न महाशाखाले सबैमा अनुरोध गरेको छ । महाशाखाले नम्बर प्लेटविरुद्धको कारबाही अभियानका क्रममा नम्बर प्लेट नलेखिएका १६५ र खुइलिएका नम्बर प्लेट राखिएका ५४ वटा मोटरसाइकल नियन्त्रणमा लिई चालकलाई कारबाही गरेको छ ।

Advertisement

ट्राफिक प्रहरीले ढाँचाअनुसार नम्बर प्लेट नलेखिएका, स्पष्ट नभएका, खुइलिएका, अनटेस्ट वा अस्थायी नम्बर प्लेट भएका, नम्बर प्लेटको टप बङ्ग्याएका वा नम्बर प्लेट ढाकिएका मोटरसाइकलविरुद्ध विशेष जाँच अभियान सञ्चालन गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।

यस्ता गाडी दुर्घटना हुँदा नम्बर टिप्न र प्रहरीलाई खबर गर्न समस्या हुने गरेको तथा त्यस्ता मोटरसाइकल फरार हुँदा पक्राउ गर्न र कारबाहीको दायरामा ल्याउनसमेत समस्या हुने गरेको उनले बताए । कतिपय त्यस्ता मोटरसाइकल तीव्र गति र लापरबाहीका साथ चलाउने, ट्राफिक नियम उल्लङ्घन गर्दै हिँड्ने गरेको पाइन्छ भने हराउँदासमेत फेला पार्न सकस हुने गरेको महाशाखाले जनाएको छ ।

Advertisement

सम्पूर्ण सवारीधनीलाई सवारी साधनको नम्बर प्लेट स्पष्ट राख्न र सवारीको अवस्थासमेत सही हालतमा राख्न महाशाखाले अनुरोध गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरी हिँड्ने, दुर्घटना गरी फरार हुने तथा चाडपर्व र भीडभाडको समयमा हुन सक्ने चोरी लुटपाटलगायतका आपराधिक क्रियाकलाप रोक्न यस अभियानले सहयोग पुग्ने विश्वास गरिएको छ ।

त्यस्ता तोकिएको ढाँचाबमोजिम नम्बर प्लेट नराख्ने मोटरसाइकललाई ट्राफिक प्रहरीले रु ५०० देखि एक हजार ५०० सम्म जरिवाना गर्ने व्यवस्था रहेको महाशाखाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top