१ कात्तिक, एजेन्सी ।
भारतको केन्द्र सरकारद्वारा शासित प्रदेश जम्मू कश्मीर एक सातादेखि द्वन्दग्रस्त छ । गत सोमवारदेखि नै त्यहाँ भारतीय सेना र चरमपन्थी विद्रोहीहरुबिच मुठभेड जारी छ । भारतीय सेनाले गत सोमवारदेखि सीमावर्ती क्षेत्र पुंछभन्दा केही टाढा रहेको सरनकोटबाट चरमपन्थीविरुद्ध कारवाही सुरु गरेको थियो । यस क्रममा अहिलेसम्म २२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ जना सैनिक रहेको खुलेको छ ।
अभियानको पहिलो दिन नै सेनाको पाँच जवानको मृत्यु भएको थियो । अपरेसनको पहिलो दिनमै सेनाका एकजना जुनियर अफिसरसहित ५ जना मारिएका थिए । सेनाको अभियानको दोस्रो दिनपछि फेरि गोली हानाहान भयो र थप जवान मारिए । मुठभेडका क्रममा अतिवादी समूहका १३ जनालाई मारिएको भारतीय सेनाले दाबी गरेको छ । अहिले पनि सेना र आतंकवादी समूहबीच पुँछ र राजौरीको घना जंगलमा लडाइँ चलिरहेको छ । यसबीच कस्मिरको कुलमागमा आइतबार गोली हानेर दुई जना गैरकस्मिरी नागरिकको हत्या गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार आतंकवादीद्वारा उत्तर प्रदेशको सहरानपुरका सगिर अहमद र बिहारको बाँका क्षेत्रका अरविन्द कुमार साह मारिएका हुन् । अरविन्द कुमार श्रीनगरको इदगाहा भन्ने ठाउँमा पानी पुरी बेच्ने गर्दथे । उनी मारिएको एक घण्टापछि कश्मीरको पुलवामा सगिर अहमद मारिए । उनी काठको मिस्त्री थिए । त्यसअघि शनिबार पनि आतंकवादीले दुई जना मजदुरको हत्या गरेका छन् । सर्वसाधारणको हत्याले कस्मिरका राजनीतिक दल आक्रोशित भएका छन् । यता आतंकवादी समूह र सेनाबीच मुठभेड चलिरहँदा जम्मु–कस्मिरमा आतंकवादीलाई सहयोग गरेको आरोपमा सरकारी कर्मचारीलाई बर्खास्त गर्ने अभियान पनि चलिरहेको छ । पछिल्लोपटक जम्मु–कस्मिर प्रशासनले अलगाववादी नेताका रूपमा परिचित सइद अली शाह गिलानीका नाति अनिल उल इस्लाम र एक जना शिक्षकलाई जागिरबाट निकालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
कश्मीरमा भारतीय शासनविरुद्ध सन् १९८९ देखि नै हिंसात्मक विद्रोह जारी छ । भारत र पाकिस्तान दुवै देशले कश्मीरको सम्पूर्ण हिस्सामा दाबी गर्छन् । तर ती दुवै देशले केही भागमा मात्र आफ्नो नियन्त्रण कायम गरेका छन् । आणविक अस्त्रसम्पन्न यी दुई छिमेकीबीच दुई पटक युद्धमा भइसकेको छ । भारतले पाकिस्तानमाथि वर्षौँदेखि भारत–प्रशासित कश्मीरमा अशान्ति फैलाउन हजारौँको सङ्ख्यामा सशस्त्र लडाकुलाई पठाउने गरेको आरोप लगाउँदै आएको छ । तर इस्लामाबादले त्यसलाई अस्वीकार गर्दै आएको छ । यसैका कारण दुई देशबीचको सम्बन्ध सधैँ तनावपूर्ण रहँदै आएको थियो । गत सन् २०१९ मा कश्मीरको विशेषाधिकार खोसिएपछि त झन् उनीहरू बीचको सम्बन्ध सबैभन्दा तल्लो स्तरमा पुग्यो । पछिल्लो पटक भारतले सन् २०१९ को अगस्ट ५ मा जम्मू तथा कश्मीरले पाउँदै आएको स्वायत्तता अन्त्य गर्दै संविधानको धारा ३७० खारेज गरिदिएको थियो । त्यस बेला प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी भाजपाद्वारा नेतृत्व गरिएको सरकारले उक्त कदमपछि जम्मू तथा कश्मीर क्षेत्रमा स्थिरता र आर्थिक विकास हुने दाबी गरेको थियो । तर दुई वर्ष भइसक्दा पनि कश्मीर उपत्यकामा तनाव उस्तै छ ।
अहिले त्यहाँ अझ धेरै युवाहरू हिंसात्मक विद्रोहतर्फ झुकाव राख्न थालेको विश्लेषकहरु बताउँछन् । कश्मीरमा लामो समयदेखि स्थानीय सुरक्षा फौज र सशस्त्र विद्रोहीबीच सङ्घर्ष हुँदै आएको छ । विद्रोहीविरुद्धको कारबाहीलाई सुरक्षा फौजले तीव्र बनाए पनि उक्त क्षेत्रमा सशस्त्र विद्रोहीले आक्रमण जारी राखेका छन् । दशकौँको द्वन्द्व र तनावका कारण कश्मीरमा निकै क्षति पुगेको छ ।
