१ कात्तिक, काठमाडौं ।
अफगानिस्तानमा सरकार चलाइरहेको तालिबानले अब छिटै नै छात्राहरु पनि विद्यालय जान सक्ने बताएको छ ।
आइतबार तालिबानको गृह मन्त्रालयका प्रवक्ता सइद खोस्टीले छात्राहरु विद्यालय फर्किने निश्चित मिति भने शिक्षा मन्त्रालयले तोक्ने बताएका छन् । उनले अलजाजिरासँगको कुराकानीमा भने, ‘मेरो बुझाइ र सूचनाअनुसार अब निकै कम समयमा सबै युनिभर्सिटी र विद्यालय खुल्ने छन् र महिला तथा बालिका विद्यालय फर्किने छन् ।’
तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै उसले किशोरीहरुलाई विद्यालयमा सुरक्षित वातावरण नबन्दासम्म घरमै बस्न निर्देशन दिएको थियो। तर, छात्रहरुलाई भने विद्यालय फर्किने अनुमति दिइसकेको छ ।
छात्रालाई विद्यालय फर्किने अनुमति नदिएसँगै तालिबानले यसपटक पनि सन् १९९० को दशकको झल्को दिने गरी कट्टरपन्थी शासन चलाउने आशंका बढेको थियो ।
गत अगष्टमा तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै उसले महिला र बालिकाको अधिकारको रक्षा गर्ने बताएको थियो । तर, त्यसयता उसले चालेको कदमले भने अन्तर्राष्ट्रिय समुदायमा तालिबानप्रतिको चिन्ता बढाएको छ ।
