विराटनगर, साउन १७
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको ६ महिने कार्यकाल अत्यन्त निराशाजनक रहेको टिप्पणी गरेका छन । विराटनगरमा आज पार्टीको प्रदेश कार्यालय उद्घाटन पछि आयोजित पत्रकार सम्मेलनमा उनले सरकार सानातिना बिषयमा अल्मलिएका कारण महत्वपूर्ण कामहरु गर्न नपाएको बताए ।
सोहि कारण पछिल्लो समय सरकारको लोकप्रियतामा तीब्र ह्रास आएको उनको भनाई थियो । उनले राप्रपा भने सरकारलाई कामगर्न दिनुपर्ने पक्षमा रहेको बताए ।
०६२/६३ को आन्दोलनपछिको परिवर्तनलाई संस्थागत गर्ने नाममा लादिएको गलत नितिको कारण देश अहिले एकदलीय सर्वसत्ताबाद उन्मुख भएको थापाको भनाई थियो ।
प्रस्तावित प्रधानन्यायाधिशको सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञाशामा अध्यक्ष थापाले संसदीय सुनवाई समिति पार्टीको छाँयाको रुपमा देखिएको आरोप लगाए ।