खुला विश्वविद्यालय स्थापनाका लागि रणनीतिक योजना कार्यशाला शुरू

११ कात्तिक ७८, शुक्रबार

१२ कार्तिक, नवलपरासी ।

Advertisement

बर्दघाट–सुस्तापूर्वको गैँडाकोटमा खुला विश्वविद्यालय स्थापनाका लागि तीनदिने रणनीतिक योजना कार्यशाला शुरू भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भर्चुअल माध्यमबाट कार्यशालाको उद्घाटन गरेका छन्।

विश्वविद्यालयका लागि जग्गा प्राप्ति तथा आवश्यक नीति, निर्देशिकामा प्रदेश सरकारका तर्फबाट साथ, सहयोग र समर्थन रहने बताउँदै उनले देशका मात्रै नभएर विदेशका विद्यार्थीलाई समेत आकर्षण गर्ने गरी विश्वविद्यालय स्थापनाका लागि शुभकामना दिए ।

Advertisement

कार्यशालामा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. केदारभक्त माथेमाले नेपालको पठनशैली पुरानो भएकाले अब नयाँ प्राविधिक विषयवस्तुसहितको शिक्षा आवश्यक रहेको औंल्याए । माथेमाले एसियाकै नमूना बन्ने गरी विश्वविद्यालय सञ्चालन गर्नुपर्ने बताए।

नेपाल विश्वविद्यालय विकास समितिका अध्यक्ष डा. अर्जुन कार्कीले सम्भाव्यता अध्ययन गर्न बनेको कार्यदलले गैँडाकोटमा विश्वविद्यालय सम्भव रहेको र गैँडाकोटले जग्गा उपलब्ध गराउने प्रतिबद्धता गरिसकेपछि त्यसलाई साकार पार्न जोडिन आएको सुनाए ।

Advertisement

सरकारले नेपाल विश्वविद्यालय विकास समिति गठन गरी आवश्यक जनशक्ति नियुक्त गरी गठनादेशमा सूची तयार गरी जिम्मेवारी दिएको छ। यो अवस्थासम्म आइपुग्न धेरै चुनौती पार गरिसकेको जनाउँदै कार्कीले लक्ष्य प्राप्ति नहुने बेलासम्म सबै एकजुट हुनुपर्ने बताए ।

नागरिक समाजका अगुवा एवं पूर्वमन्त्री डा देवेन्द्रराज पाण्डेले विश्वविद्यालयका विषयमा चार वर्षअघि कुरा उठेको उल्लेख गर्दै यसमा आफू पनि सहभागी हुने जानकारी गराए ।

कार्यक्रमका गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले चार वर्षअघि परिकल्पना गरिएको विश्वविद्यालय बनाउन पूर्वप्रधानमन्त्रीदेखि प्रदेशका मुख्यमन्त्रीको सहयोग गर्ने आश्वाशनले खुसी तुल्याएको बताए ।

विसं २०७४ चैत २८ गते नगरपालिकाको दोस्रो नगरसभाले नेपाल विश्वविद्यालय स्थापनाको प्रस्तावलाई अनुमोदन गरेको थियो । नेपाल विश्वविद्यालय स्थापना नगर समितिले तयार पारेको अवधारणा पत्र २०७५ वैशाख २३ गते नगरपालिकालाई हस्तान्तरण गरिएको थियो ।

अबको चार–पाँच महिनामा विश्वविद्यालयको शिलान्यास गर्ने गरी तयारी एवं छलफल अघि बढेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top