जाजरकोट, साउन २०
जाजरकोटको भेरी नगरपालिका–३ ठाँटीबजार नजिक आज बिहान सात बजे गएको पहिरोमा पुरिएर ९ जनाको मृत्यु भएको छ । स्थानीय पत्रकार तीर्थ बोहरा र गोपाल सुनारको घर पहिरोले पुरिँदा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नविन परियार,८ वर्षीय गोबिन्द परियार र ८ वर्षीय दर्शक परियार छन् ।
यस्तै, तिर्थ बोहराकी ८ वर्षीया छोरी नज्मा बोहराको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । यस्तै मृत्यु हुनेमा २५ वर्षीया तिर्सना सितला लुहार, उनकी छोरी ९ वर्षीया भगवती, ६ वर्षीया रञ्जना र ३ वर्षीया मनिषा छिन् । पहिरोमा परी सितलाका श्रीमान ३१ वर्षीय लालबहादुर लुहारको घाइते अवस्थामा उद्दार गरिएको छ ।
उनको जाजरकोट अस्पतालमा उपचार भइरहेको जनाइएको छ । स्थानीय ओमजङ शाहको घर मुनिबाट गएको पहिरोले बोहरा र सुनारको घर पुरेको हो । घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको र उद्धारको काम भइरहेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभएको छ । ती घरहरुमा बटुवाहरु समेत बसेकाले उनीहरु पनि पुरिएको आशंका गरिएको छ ।