साउन २१
आफुले चलाएको मालवाहक गाडी चोरी भएपछि जेल चलान भएका इलामका प्रेमबहादुर राई साउदी अरबको अदालतमा क्षतिपूर्तिबापत एक लाख ५० हजार रियाल (झन्डै ४५ लाख रुपैयाँ) बुझाएपछि जेलमुक्त भएका छन् । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।उनी जेट एयरमार्फत आइतबार दिउँसो स्वदेश फर्किए ।
गाडी चोरी भएपछि साउदी अदालतले उनलाई दुई महिना जेल र ५० कोर्राको फैसला सुनाएको थियो । उनी कार्यरत कम्पनीले निजी कानुनअनुसार ८ लाख रियाल क्षतिपूर्ति माग गरेपछि अदालतले राईले ३ लाख १० हजार रियाल दिनुपर्ने फैसला सुनाएको थियो ।
नेपाली दूतावासको अनुरोधमा राईका मालिक मोहम्मद सल्वाईले आधा पैसा मिनाहा गरेका थिए । त्यसपछि राई बचाउ अभियान समितिले संकलन गरेको ४३ लाख रुपैया साउदी पठाएको थियो ।
राईले आफू परिबन्दमा परेको भन्दै उद्धार गर्न आग्रह गरेपछि प्रेम राई बचाउ अभियान सञ्चालन गरी रकम संकलन गरिएको थियो । अभियानले रकम उठाएर परराष्ट्र मन्त्रालय हुँदै नेपाली दूतावासमार्फत बुझाएको थियो ।
‘मलाई जेलबाट निकाली नेपाल ल्याउन नेपाली दाजुभाइहरूले एक–एक पैसा दिनुभएको छ । त्यो सहयोगले मैले आफ्नो परिवार भेट्न पाएँ,’ त्रिभुवन विमानस्थलमा उनले भने, ‘ममाथि अन्याय भएको थियो । त्यसविरुद्ध नेपाली दाजुभाइ लडेर मलाई नेपाल ल्याइदिनुभयो ।’