२९ कात्तिक, एजेन्सी ।
दी ट्रम्प अर्गनाइजेसनले आफ्नो वासिङटन होटेल बेच्ने भएको छ । पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानमा होटेलले लाखौं डलर गुमाएपछि अर्गनाइजेसनले करिब ३७५ मिलियन अमेरिकी डलर लिजमा सिजिआइ मर्चेन्ट ग्रुपलाई बेच्ने भएको हो ।
पूर्वराष्ट्रपति ट्रम्पको चुनावी अभियानमा सो होटेलले ७० मिलियन डलरभन्दा बढि रकम गुमाएको एक रिपाेर्टले पुष्टि गरेको थियो । ठूलो घाटा बेहोरेपछि अर्गनाइजेसनले होटेल बेच्ने निर्णय र सम्झौता गरेको हो ।
दी ट्रम्प इन्टरनेसनल होटेल नाम राखिएको सो होटेलको नयाँ नाम वाल्डोर्फ एस्टोरिया राखिने र सो होटेल हिल्टोन ग्रुपले व्यवस्थापनको जिम्मा लिने समाचारमा उल्लेख छ ।
पुर्व राष्ट्रपति ट्रम्पको कम्पनीले सन् २०१६ सेप्टेम्बरदेखि सो होटेल सर्वसाधारण लागि खुला गरेको थियो । करिब १२० वर्ष पुरानो सो भवन अमेरिकी राष्ट्रपतिको कार्यालयदेखि १ माइल दुरीमा अवस्थित छ ।
ट्रम्प अर्गनाइजेसनले सन् २०१२ मा ऐतिहासिक पुरानो पोष्ट अफिसको कार्यालय किनेको थियो । प्रवलीकरणपछि होटल ४ वर्षपछि सञ्चालनमा आएको थियो भने सो होटेल ६० वर्षसम्म सञ्चालन गर्ने गरि डिजाइन र सम्झौता भएको वाल स्ट्रिट र ब्लुमवर्गलाई उद्धृत गर्दै बीबीसीले जनाएकाे छ ।
होटेल सञ्चालनमा आएकै वर्ष डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको रुपमा उम्मेद्धारी पाएका थिए । ट्रम्पको चुनावी अभियानको समयमा सो होटलले निकै चर्चा कमाएको थियो ।
