काठमाडौं, साउन २५
बंगलादेशले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्ने भएको छ । जलविद्युतमा लगानी गर्ने विषयमा नेपाल र बंगलादेशबीच समझदारीपत्र मा हस्ताक्षर भएको छ । नेपालको तर्फबाट जलस्रोत, ऊर्जा तथा सिंचाइ मन्त्री वर्षमान पुन र बंगलादेशका विद्युत, ऊर्जा तथा खजिन स्रोत राज्यमन्त्री नरसुल हमिदले एमओयुमा हस्ताक्षर गरेका हुन् ।
बंगलादेशका लगानीकर्ताले नेपालीसंगको साझेदारीमा ऊर्जा विकासमा संयुक्त रुपमा लगानी गर्ने भएका छन् । यसका लागि प्रसारणलाइन जोड्ने लगायत विषयमा समझदारी भएको छ । बंगलादेशले ९०० मेगावाटको माथिल्लो कर्णाली आयोजनाबाट ५०० मेगावाट बिजुली खरिद गर्नका लागि सहमति गरेको छ ।
पछिल्ला वर्षमा बंगलादेशले नेपालको जलविद्युतमा लगानी गरेर बिजुली किन्ने तयारी गरेको छ । नेपालको जलविद्युतमा भारत र चीनपछि बंगलादेश सहभागी भएको छ । सो अवसरमा बंगलादेशका राज्यमन्त्री हमिदले एमओयुबाट ऊर्जा विकासमा कोशेढुङा कायम भएको बताएका छन् ।