विराटनगर, साउन २८
नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ७९ औं जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस मोरङले विचार गोष्ठी आयोजना गरेको छ ।
सोमबार पार्टी कार्यालय पोखरियामा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य अमृत अर्यालले संविधान निर्माणमा सुशील कोइरालाको अतुलनीय योगदान रहेको चर्चा गरे । उनले भने, ‘सुशील’दाकै कारण मुलुकले संविधान प्राप्त गरेको हो । अहिले विभिन्न तत्वहरु संविधानलाई असफल बनाउने खेलमा लागेका छन् ।’
उनले संविधानको सफल कार्यान्वयन भएमात्रै कोइरालाको आत्माले शान्ति पाउने बताए । कार्यक्रममा नेता अशोक कोइरालाले सुशील कोइरालाकै कारण मुलुकले संविधान पाएको दाबी गरे ।
कार्यक्रममा कांग्रेस नेता दिलीप गच्छदार, सांसद शेखरचन्द्र थापा, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, मोरङ कांग्रेसका सचिव नागेश कोइरालालगायतले सुशील कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलन र संविधान निर्माणमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।