कसैको व्यक्तिगत घरमा मौखिक सहमतिमा कोठा भाडामा लिई बस्नु पर्ने बाध्यता छ । महंगो भाडा रकम तिरेर बसेपनि घरबेटीले कुन बहानामा कतिबेला हटाउने हो टुंगो हुँदैन । घरबेटीले भाडामा बस्नेलाई कचकच र अनेक बहानामा दुख दिने र सताउने गर्छन् ।
तर,आगामी भदौ महिनादेखि भने यो हैरानी र तनावबाट सबैले मुक्ति पाउँदैछन्। भदौ १ देखि लागू हुने गरी नयाँ कानुन आउँदैछ ।मुलुकी देवानी (संहिता) ऐन २०७४ को परिच्छेद ९ मा उल्लेख घर बहालसम्बन्धी व्यवस्थाले विवादको अवस्था आउन दिनेछैन। यो खबर आजको कान्तिपुर दैनिकमा छ ।
ऐनले घरबेटीको दादागिरी र मनलाग्दी भाडा दरमाथि अंकुश लाउने भएपछि डेरावालले मुक्ति पाउने भएका हुन् । सम्झौताबमोजिम मात्रै घर भाडामा लगाउनु पर्ने र बस्नुपर्ने नीतिले डेरावाल कतिबेला गायब हुने हो, भाडा रकम तिर्ने हो कि होइन भन्ने तनावबाट घरबेटीले पनि मुक्ति पाउनेछन्।
घरबेटी र डेरावाललाई कानुनी दायरामा ल्याउने व्यवस्था भएपछि न्यायिक समितिलाई पनि कार्य सम्पादनमा सहजता थपिने अधिकृत घिमिरे बताउँछिन् । यसअघि मौखिक सहमतिमा घर भाडामा लगाउने र बस्ने बीचैमा विमती उत्पन्न भएपछि उजुरी न्यायिक समिति पुग्थे।