विराटनगर,साउन ३०
१८ औँ एसियालि खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत मंगलबार भएको खेलमा नेपाली यु–२३ पुरुष फुटबल टोली जापानसँग पराजित भएको छ । नेपाली यु–२३ टिम जापानको यु–२३ टिमसँग १–० ले पराजित भएको हो ।
यससँगै नेपाल एसियाडमा जापानसँगको चौथो भेटमा चारै पटक पराजित भएको छ । सन् १९८६ मा दक्षिण कोरियामा भएको एसियन गेम्स र सन् १९९२ मा थाइल्याण्डमा भएको एसियन गेम्समा नेपाल जापानसँग समान ५–० ले पराजित भएको थियो । सन् २०१४ मा दक्षिण कोरियामा भएको एसियन गेम्समा नेपाल ४–० ले पराजित भएको थियो ।
सिकाराङस्थित विबावा मुक्ति रंगशालामा आज भएको समूह ‘डी’ को पहिलो खेलमा नेपाल खेलको सातौ मिनेटमा नै पछि परेको थियो । जापानका लागि मिटोमा काउरुले सातौ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।त्यही सातौँ मिनेटको गोल नै नेपालको हारमा निर्णायक बन्यो ।
खेललाई जापानले आफ्नो नियनत्रणमा राखेपनि त्यसपछि थप गोल गर्न सकेन । जापानी फरवार्डले नेपालको बलियो रक्षापङ्ति तोड्न सकेन । नेपालका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले धेरै उत्कृष्ट बचाउ गरेका थिए ।
थाइल्याण्डमा १० दिनको विशेष प्रशिक्षण र दुई अभ्यास खेल खेलेर इन्डोनेसिया पुगेको नेपाली टोलीे थाइल्यान्डमा खेलेको दुवै अभ्यास खेलमा पराजय भोगेको थियो । समुह ‘डी’ रहेको नेपालले दोस्रो खेलमा नेपालले भियतनामसँग १६ अगष्टमा खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले १९ अगस्टमा पाकिस्तानको सामना गर्नेछ ।