१७ फागुन, एजेन्सी ।
अमेरिकाले १२ रुसी कूटनीतिज्ञलाई निष्काशन गर्ने भएको छ ।
उनीहरु जासुसी गतिविधिमा संलग्न भएको र त्यसले राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न गरेको भन्दै अमेरिकाले सोमबार १२ रुसी कूटनीतिज्ञलाई देश निकाला गर्ने घोषणा गरेको हो ।
संयुक्त राष्ट्रसंघका लागि अमेरिकी मिसनकी प्रवक्ता ओलिभिया डाल्टनले रुसी कूटनीतिज्ञले अमेरिकामा आफ्नो बसाइको गलत प्रयोग गरी जासुसीको काम गरेकाले निकाला गरिएको बताएकी छन् ।
संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत भासिली नेबेन्जियाले कूटनीतिज्ञहरुलाई मार्च ७ भित्र देश छोड्न भनिएको पत्रकारलाई बताएका छन् । निष्काशनमा पर्ने सबै संयुक्त राष्ट्रसंघका लागि रुसी कूटनीतिज्ञ हुन् । नेबेन्जियाले अमेरिकी निर्णयको विरोध गरेका छन् ।
रुसले गएको बिहीबारदेखि युक्रेनमा आक्रमण गरेपछि अमेरिकाले आर्थिकसहितका प्रतिबन्धात्मक नियम लागु गरेको छ । पछिल्लोपटक उसले कूटनीतिज्ञलाई निष्काशन गर्ने निर्णय गरेको हो ।
संयुक्त राष्ट्रसंघको मुख्यालयसँगको अन्तरक्रियामा रुसी कूटनीतिज्ञलाई निष्काशन गरिएको प्रवक्ता डाल्टनले बताएकी छन् ।
