१७ फागुन, एजेन्सी ।
अमेरिकाका लागि युक्रेनकी राजदूतले सोमबार रुसले युक्रेनविरुद्ध प्रतिबन्धित बम प्रयोग गरेको आरोप लगाएकी छन्।
अमेरिकी संसदमा बोल्दै युक्रेनकी राजदूत ओक्साना मार्कारोभाले रुसले थर्मोबेरिक हतियार प्रयोग गरेको बताएकी हुन्। उनले भनिन्, ‘रुसले आज भ्याकुम बमको प्रयोग गर्यो जुन जेनेभा सम्मेलनको प्रावधानअनुसार प्रतिबन्धित छ।’
थर्मोबेरिक हतियारलाई सामान्यतया भ्याकुम हतियार पनि भनिन्छ। यद्यपि यो दाबी स्वतन्त्र पुष्टि हुन भने सकेको छैन। थर्मोबेरिक हतियारमा पारम्परिक गोला–बारुदको प्रयोग गरिएको हुँदैन। यो उच्च–चापसहितको विष्फोटक पदार्थले भरिएको हुन्छ। यस्तो बम शक्तिशाली हुनुका साथै यसले आसपासको आक्सिजन पनि सोस्छ।
ह्युमन राइट्स वाचका अनुसार रुसी गणरज्य चेचन्यामा यसअघि नै यस किसिमको हतियारको प्रयोग भइसकेको छ। यसअघि शनिबार सीएनएनले रुसको सहर बेलगोरोडनजिकै थर्मोबेरिक रकेट प्रक्षेपण गरिएको उल्लेख गरेको थियो।
यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिभिजनमा आफ्नो एक सम्बोधनको क्रममा रुसले आक्रमण सुरु गरेपछिको ५ दिनमा अहिलेसम्म ५६ रकेट र ११३ क्रुज मिसाइल प्रहार गरिसकेको उल्लेख गरेका छन्।
साथै उनले युद्धमा सामेल हुन चाहने विदेशीको लागि विना कुनै भिसा युक्रेन आउन दिने घोषणा गरेका छन्। उनले सोमबार दिउँसो खारकिभमा रुस युद्ध अपराधमा पनि सामेल भएको आरोप लगाएका छन्।
