Nepal Times
Nepal Times
3
Shares

बालिका बलात्कारपछि हत्या प्रकरणः राजमार्ग अवरुद्ध गर्दै आन्दोलन गर्ने महिलाहरु प्रहरी नियन्त्रणमा, दुई युट्युबर पनि पक्राउ

बालिका बलात्कारपछि हत्या प्रकरणः राजमार्ग अवरुद्ध गर्दै आन्दोलन गर्ने महिलाहरु प्रहरी नियन्त्रणमा, दुई युट्युबर पनि पक्राउ

२ चैत, विराटनगर । डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्याको घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलन गर्ने महिलालाई प्रहरी नियन्त्रणमा लिएको छ ।

मंगलबार महेन्द्र राजमार्ग अवरुद्ध गरेर आन्दोलन गर्न खोज्ने ८ जना महिलाहरुलाई नियन्त्रणमा लिएको हो ।

राजमार्ग अवरुद्ध गरेका कारण नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए । पक्राउ परेकाहरुमा २ जना युट्युबर पनि रहेको प्रहरी स्रोतले बताएको छ ।

यद्यपि प्रहरी उपरीक्षक जिसीले युट्युबरको विषयमा आफूलाई जानकारी नभएको बताए । सडक अवरुद्ध गरेका कारण नियन्त्रणमा लिएको बताउँदै उनले मुद्दा चलाउने वा नचलाउने भन्ने विषयमा टुंगो नभएको बताए ।

न्याय माग्दै आन्दोलनमा उत्रिएकाहरुलाई प्रहरीले पक्राउ गरेपछि अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् । उनले न्याय माग्ने महिलाहरुलाई विनाशर्त रिहा गर्नुपर्ने बताइन् ।

मोरङको सुन्दरहरैंचा नगरपालिका–७ गणेशपुरकी १८ महिने नाबालिकाको बलात्कारपछि हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो ।

गत शुक्रबार साँझ घरबाट हराएकी नाबालिकालाई आफन्तले घर नजिकैको झाडीमा फेला पारेका थिए ।

गम्भीर अवस्थामा भेटिएकी बालिकाको राति १२ बजे नोबेल मेडिकल कलेजमा मृत्यु भएको थियो ।

बालिकाको बलात्कारपछि हत्या आरोपमा प्रहरीले आरोपमा स्थानीय २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरेको थियो । दुई जना दाजुभाइ हुन् ।

अजय भने सुन्दरहरैंचामा १३ फागुन २०७७ मा दुई वर्षीया बालिकाको अपहरण आरोपमा पक्राउ परेका थिए । आरोप पुष्टि नभएपछि १६ मंसिर २०७८ मा जिल्ला कारागार, मोरङबाट छुटेका थिए ।

एउटा घटनाबाट उन्मुक्ती पाएको दुई महिनापछि उनकै योजनामा नाबालिकाको बलात्कारपछि हत्या भएको प्रहरीले बताएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.