३ चैत, काठमाडौँ । केही वर्षदेखि रङको पर्व फागु अर्थात होली सभ्य बन्दै गएको छ । केही वर्षअघिसम्म फागुन शुक्ल अष्टमीदेखि नै लोला हान्ने प्रवृत्ति थियो । तर, चार/पाँच वर्षयतादेखि फागु पर्वलाई अनुशासित भएर मनाउने गरिएको छ ।
सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व आज हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली मनाइँदैछ ।
होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाण्डौ उपत्यकाका तीनै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । चोकचोकमा सुरक्षाकर्मी खटिएका छन् ।
होलीका नाममा अश्लिल, उच्छृङ्खल र अप्रिय गतिविधि हुन नदिन महानगरीय प्रहरी कार्यालय रानीपोखरीले झण्डै चार हजार सुरक्षाकर्मी परिचालन गरेकोे छ ।
होली पर्वका नाममा उच्छृङ्खल र अराजक गतिविधि हुन नदिन सुरक्षा योजना लागू गरिएको महानगरीय प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले बताए ।
जथाभाबी लोला हान्ने, पानी छ्याप्ने, ट्राफिक नियमको पालना नगर्ने, जाँड रक्सी खाएर गाडी चलाउने, झैझगडा गर्ने र दुर्व्यवहार गर्नेलाई कारबाही हुने उनले बताए । उनका अनुसार ६८ वटा चोकमा चेकप्वाइन्ट राखिएको छ । सादा पोसाकका ट्राफिक प्रहरीसहितको टोलीले संयुक्त रूपमा नियमित चेकिङ गर्ने छन् ।
बिहानैदेखि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा दुई वटा अनुगमन टोली, १४ वटा मोबाइल टोली, गाडी अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा पनि ट्राफिक प्रहरी परिचालन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
तीव्र गति र ‘जिगज्याग’ गरी मोटरसाइकल चलाउने, जाँड रक्सी खाएर गाडी चलाउने, मोटरसाइकलमा हेल्मेट नलगाउने, मोटरसाइकलमा दुई जनाभन्दा धेरै चढ्ने, गाडीको प्रयोग गरी महिलालाई लक्षित गरी रङ लोला हान्ने र अभद्र व्यवहार गर्नेलाई कारबाही गरिने प्रहरीले जनाएको छ ।
यस्तै ठूलो आवाज निकाल्ने र ‘मोडिफाइ’ गरी गाडी चलाउने र ट्राफिक नियम विपरीत गाडी चलाउनेमाथि विशेष निगरानी राखिएको छ ।


