युक्रेन संकटमा आफूहरुले लिएको अडान सही रहेको समयले प्रमाणित गर्नेछ–चिनियाँ विदेशमन्त्री

६ चैत्र, एजेन्सी ।
युक्रेन संकटमा आफूहरुले लिएको अडान वा स्थान सही रहेको समयले प्रमाणित गर्ने दाबी चिनियाँ विदेशमन्त्रीले गरेका छन्।

Advertisement

शनिबार भएको पत्रकार सम्मेलनमा विदेशमन्त्री वाङ्ग यीले ‘चीन जहिले पनि शान्ति कायम गर्ने र युद्धको विपक्षमा उभिने गरेको’ बताउँदै अहिले युक्रेनका सम्बन्धमा लिएको स्थान पनि ‘वस्तुपरक र निष्पक्ष तथा अधिकांश देशको अपेक्षाअनुरुप’ रहेको दाबी गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।

चिनियाँ विदेश मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार विदेशमन्त्री वाङ्गले दाबी गरेका छन्, ‘चीनले गरेका दाबी इतिहासको सही पक्षमा रहेको प्रमाणित समयले गर्नेछ।’

Advertisement

चीनले युक्रेन युद्धलाई लिएर ‘विवादास्पद’ अडान लिँदै आएको छ। उसले आफूलाई तटस्थ लाग्ने प्रयास गर्दै युक्रेनको सार्वभौमसत्ताको सम्मान गर्ने बताएको छ भने रुसको ‘सुरक्षा चासो’ पनि सम्बोधन हुनुपर्ने उल्लेख गरेको छ। वार्ताका लागि आफू मध्यस्थता गर्न तयार रहेको पनि चीनले बताएको छ।

तर अहिलेसम्म युक्रेनमाथि गरेको आक्रमणलाई लिएर चीनले रुसको आलोचना गरेको छैन। युक्रेनमा रुसले गरेको सैन्य गतिविधिलाई ‘आक्रमण’ समेत भन्न चीनले अस्वीकार गर्दै आएको छ। तर चीनले पश्चिमा देशले रुसमाथि लगाएको आर्थिक प्रतिबन्धको भने विरोध गर्दै आएको छ।

Advertisement

पछिल्लो समय रुसले चीनसँग सैन्य तथा वित्तीय सहयोग माग गरेको र बेइजिङ पनि त्यसमा सकारात्मक रहेको दाबीसहितका खबर प्रकाशित भएका छन्। चीनले आरोप अस्वीकार गरेको छ। अमेरिकाले त्यसप्रति गम्भीर चासो र चिन्ता जताएको छ।

शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी जिनपिङबीच भिडियो कल भएको थियो। त्यस क्रममा बाइडेनले चीनले रुसलाई युक्रेन युद्धका लागि सैन्य सहयोग गरेमा गम्भीर परिणामको सामना गर्नुपर्ने चेतावनी दिएका थिए।

सो परिवेशमा शनिबार चिनियाँ विदेशमन्त्री वाङ्गले चीनले कुनै पनि बाह्य दबाब स्वीकार नगर्ने बताएका छन्। बाइडेनसँगको भिडियो संवादको क्रममा चिनियाँ राष्ट्रपति सीले युक्रेनमा जारी युद्ध जतिसक्दो चाँडो अन्त्य हुनुपर्ने बताएका थिए। उनले सैन्य गठबन्धन नेटो राष्ट्रले रुससँग वार्ता गर्नुपर्ने बताएका थिए।

तर उनले युक्रेन आक्रमणलाई लिएर रुसको आलोचना भने नगरेको जारी वक्तव्यलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ। रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण गर्दै आएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top