६ चैत्र, हुम्ला ।
हुम्लाको नाम्खा गाउँपालिकाका लिमीवासीले निर्वाचन अगाडि नै वडाध्यक्ष र सदस्यहरु चुनेका छन्।
चीनसँग सीमा जोडिएको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका जाङ, हल्जी र तिल गाउँका बासिन्दाको भेलाले वडाध्यक्ष र सदस्यहरु चुनेका हुन्। सरकारले वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति तोकेको छ । तर स्थानीयले गाउँ भेला गरी वडाध्यक्ष र सदस्य चुनेका हुन् ।
झन्डै १ सय ५० घरधुरी रहेको लिमीमा जाङ, हल्जी र तिल गरी ३ गाउँ छन् । गाउँ भेलाबाट वडाध्यक्षमा पाल्जोर तामाङ नै दोहोरिएका छन् । गत मंसिरमा लिमीमा खाद्यान्न अभाव हुँदा वडाध्यक्ष तामाङले काठमाडौं पुगी खाद्यान्न अभावको समस्या समाधान गरेका थिए ।
आलु र उवा मात्रै उत्पादन हुने लिमीमा बर्सेनि खाद्यान्न अभाव हुन्छ । तामाङको काम कारबाही सन्तोषजनक भएकाले फेरि उनैलाई वडाध्यक्ष तोकिएको स्थानीय डिचिन तामाङले बताइन् । सदस्यहरूमा हल्जीबाट छिरिङटुङडुप तामाङ, जाङबाट पुटी तामाङ र तिलबाट टुङडुप लामा चयन भएका छन् । उनीहरू सबै नयाँ हुन् ।
लिमीका सबै घरबाट एक–एक जना उपस्थित गराएर बैठक डाकिएको स्थानीय गिरमेत तामाङले बताए । उनका अनुसार २०७४ को स्थानीय तह निर्वाचनअघि पनि यसरी नै जनप्रतिनिधि चुनिएको थियो । स्थानीयले अब गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि मात्रै मतदान गर्ने भएका छन् ।
भारी हिमपात भएका कारण यो वर्ष लिमीका बासिन्दाको नामावली संकलन नभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयले १७ मंसिरदेखि ९ पुससम्म नामावली संकलन गरेको थियो । ‘कार्यक्रम हुँदा लिमीमा भारी हिमपात भएको थियो, त्यसैले मतदाता नामावली अद्यावधिक गर्न सकिएन,’ जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाले भने ।