७ चैत्र, काठमाडौं ।
अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू) को १४४औँ सम्मेलनमा इन्डोनेशियाको बालीमा आइतबार साँझ सुरु भएको छ।
विश्वभरबाट १०० भन्दा बढी देश सहभागी सम्मेलनमा नेपालका तर्फबाट राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको नौ सदस्यीय संसदीय प्रतिनिधिमण्डल सहभागी रहेको छ। अन्तर व्यवस्थापिका सङ्घ तथा इन्डोनेशियाको संसद्को आयोजनामा आइतबारदेखि सुरु सम्मेलन चैत्र १० गतेसम्म चल्नेछ।
सम्मेलनमा नेपालको तर्फबाट अध्यक्ष तिमिल्सिनाले ‘शून्य उत्सर्जन प्राप्त गर्नः जलवायु परिवर्तन सम्बन्धी कार्यमा संसद्को परिचालन’ (Getting to Zero: Mobilizing Parliaments to act on Climate Change) विषयमा बोल्ने कार्यक्रम रहेको छ।
त्यसैगरी सम्मेलनको विशेष सत्रमा नेपालमा कोभिड १९ विरुद्धको लडाइँमा नेपालको संसद्ले गरेका गतिविधिहरूका सम्बन्धमा समेत अध्यक्ष तिमिल्सिनाले संक्षिप्त जानकारी प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।
सोही अवसरमा गभर्निङ काउन्सिलको २०९ औँ सत्रमा अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा अनिता देवकोटा र भैरव सुन्दर श्रेष्ठले सहभागिता जनाउने छन्। उक्त अवसरमा Standing Committee on Peace and International Security, Standing Committee on Democracy and Human Rights, Standing Committee on Sustainable Development र Standing committee on United Nations Affairs शीर्षकहरूमा हुने विभिन्न छलफल कार्यक्रममा प्रतिनिधिमण्डलले सहभागिता जनाउने छ भने महिला संसद् सदस्यहरूको बैठक र छलफलमा देवकोटा र युवा संसद् सदस्यहरूको बैठकमा उमाशङ्कर अरगरियाले सहभागिता जनाउने छन्।
त्यसैगरी सुरेन्द्र कुमार कार्कीले “Engaging for a Universal Ban on Nuclear Tests” विषयमा हुने छलफलमा नेपालको धारणा प्रस्तुत गर्ने बताइएको छ । उक्त सम्मेलनसँगै सञ्चालन हुने Association of Secretaries General of Parliaments (ASGP) सम्मेलनमा सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतम सहभागी हुनेछन्।
अध्यक्ष नेतृत्वको प्रतिनिधि मण्डलमा राष्ट्रिय सभा सदस्य भैरव सुन्दर श्रेष्ठ र अनिता देवकोटा तथा प्रतिनिधि सभा सदस्य सुरेन्द्र कुमार कार्की र उमाशङ्कर अरगरिया सहभागी छन्।त्यसैगरी सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतम, राष्ट्रिय सभा सचिव राजेन्द्र फुयाँल, अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला र उपसचिव रेखा उपाध्याय भ्रमण टोलीमामा सहभागी छन्।

सम्मेलनमा सहभागी भएर प्रतिनिधिमण्डल चैत्र ११ शुक्रवार नेपाल फर्कनेछ।
