विराटनगर,साउन ३१
नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना अन्तर्गत १६ किलोमिटर पाईप बिछ्याईएको छ । बिहारको मोतीहारीदेखि अमलेखगन्ज डिपोसम्म आइपुग्ने परियोजनाको ८० मध्ये १६ किलोमिटर पाइप बिछ्याइएको हो ।
काम सुरु भएको ३० महिनामा पुरा गर्ने लक्ष्य लिईएको यस परियोजनाको अहिले स्थानीय अवरोध नभएका स्थानमा पाइप बिछ्याउने काम भइरहेको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । उनका अनुसार पथलैयादेखि जितपुर, जितपुरदेखि परवानीपुरसम्म र वीरगन्जको बाइपास क्षेत्रमा पाइपलाइन विछ्याइएको छ । सिमराको तौल मेसिनदेखि अमलेखगन्जतर्फको खण्डमा पनि चाँडै काम सुरु गरिने गोइतले बताए । उक्त कामको लक्ष्य अनुसार प्रगती छिटो भएको आयल निगमको दाबी छ ।
पाइपलाइन रुटको केही भाग पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा परेकाले स्वीकृति लिएर काम सुरु गर्न लागिएको जनाईएको छ । गत फागुन २५ गतेबाट सुरु भएको पाइपलाइन विस्तारको काम भारतको लिखित इन्फ्रास्ट्रक्चरले गरिरहेको छ भने भारतकै सिमलेस लिमिटेडले उत्पादन गरेका पाइप प्रयोग गरिएको जनाईएको छ ।
नेपाल र भारतको संयुक्त लगानी रहेको पाइपलाइन परियोजना ४ अर्ब ४० करोड रुपैयाँ लागतमा सम्पन्न गर्ने लक्ष्य छ । परियोजनामा भारतको ३ अर्ब २० करोड रुपैयाँ र नेपालको १ अर्ब २० करोड रुपैयाँ लगानी हुनेछ ।पाइपलाइन विस्तारको काम पूरा भएपछि मोतीहारीबाट प्रतिघन्टा ३ लाख लिटर पेट्रोलियम पदार्थ निगमको अमलेखगन्ज डिपोमा आइपुग्नेछ । पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हुन थालेपछि वार्षिक ७० करोड रुपैयाँ ट्यांकर ढुवानी खर्च जोगिने निगमको दाबी छ । पाइप लाइन परियोजना निर्माण गर्न २०७२ भदौ ७ गते दुुई देशबीच सम्झौता भएको थियो ।