विराटनगर,भदौ १
आगामी २२ भदौबाट देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘रोजी’को नाम परिवर्तन गरि रोजीबाट ‘रोज’ नामाकरण गरिएको छ ।काठमाडौं वडा नम्बर १५ वस्ने गोबिन्द महर्जन र उनकी श्रीमती नानीमैया महर्जनले आफ्नो मृतक छोरी रोजी महर्जनको हत्या घटनासँग फिल्म रोजीको कथा र परिवेश मिलेको भन्दै पटक पटक सो नाम नराखिदिन दबाव दिएपछि निर्माण पक्षले नाम परिवर्तन गरेको हो ।
बिहिबार चलचित्र विकास बोर्डमा निर्माता निर्देशक नीरक पौडेल, निर्माता मणिकरण केसी र मृतक रोजी महर्जनको परिवारबाट गोबिन्द महर्जन एवम नानीमैया महर्जनबीच भएको दुई पक्षीय वार्तामा अब निर्माण पक्षले फिल्मको नाम ‘रोजी’ नराख्ने,सत्य घटनामा आधारित रहेको भन्ने उल्लेख नगर्ने सम्झौता भएको छ ।
यस्तै महर्जन परिवारले पनि आगामी २२ भदौमा प्रदर्शनमा आउने यो फिल्मलाई कुनै पनि प्रकारको बाधा नपु¥याउने सम्झौता भएको छ । यसरी निर्माता पक्ष र महर्जन परिवारबीचको सम्झौता भएपछि फिल्मको नाम रोजी नराखिने तय भएको हो । त्यसपछि यसको नाम परिवर्तन गरेर ‘रोज’ राखिएको हो ।
रोजी हत्या काण्डको बारेमा आफुलाई सुरुमा जानकारी नभएको र महर्जन परिवारले फिल्मको छायाँकनमा बाधा पार्न थालेपछि सो हत्याकाण्डबारे आफूले अध्ययन गरेको पनि निर्देशक पौडेलले खुलासा गरे ।उनले भने, ‘मृतकको संवेदनालाई मध्यनजर राखेर हामीले नाम परिवर्तन गर्ने निर्णय गरेका हौं । कानुनी रुपमा हामी माथि हुँदाहुँदै पनि कसैको संबेदनालाई बिक्री गरेर पैसा कमाउनु हुन्न भन्ने हाम्रो मान्यता रहको छ ।’ रोजी हत्याकाण्डको अध्ययनपछि धेरै कुरा फरक पाएकोले आफूहरुलाई नाम परिवर्तन गर्न गाह्रो नभएको पनि उनले प्रस्ट पारे ।
यो फिल्मलाई महर्जन परिवारले चलचित्र विकास बोर्डमा उजुुरी दिएर सुरुमै छायाँकनमा अबरोध गरेको थियो । गोपिकृष्ण मूभिजको व्यानरमा निर्मित यो फिल्ममा अभिनेता प्रदीप खड्का, परमिता राणा, मिरुना मगर, कर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।