काठमाडौं, २२ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेविरुद्ध अदालतकाे मानहानी गरेकाे मुद्दामा उच्च अदालत पाटनले कारण देखाऊ आदेश दिएको छ ।
एक टेलिभिजनसँगको अन्तर्वार्तामा अदालतको फैसलामा सेटिङ भएको भन्ने अभिव्यक्ति दिएपछि मन्त्री आलेविरुद्ध हाेटल आनन्द प्रालिले उच्च अदालतमा मानहानी रिट निवेदन दिएकाे थियो । मंगलबार उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय सुवास पौडेल र नारायणप्रसाद पौडेलको संयुक्त इजलासले मन्त्री आलेलाई कारण देखाउ आदेश जारी गरेको हो ।
मन्त्री आलेले अदालतभित्रको सेटिङको कारण होटल आनन्द सिल गर्न नदिएको बताएका थिए । १४ चैतको पशुपति विकास कोषको बैठकले होटल आनन्द प्रालिसँगको सम्झौता रद्द गर्ने निर्णय गरेको थियो भने १६ चैतमा होटल आनन्दले निर्णयविरुद्ध रिट हालेकाे थियो ।
तर, १७ चैतमा होटल सिल गर्न प्रशासन पशुपति पुगेको थियो । प्रशासनले अदालतको आदेशको कारण सिल गर्न नसकेपछि मन्त्री आलेले सेटिङ भएको अभिव्यक्ति दिएका थिए ।
