काठमाडौं, २७ चैत । निर्वाचन आयोगले मतदाता शिक्षाको नाममा गर्दै आएको घरदैलो कार्यक्रम खारेज गरेको छ । २०६४ सालदेखि सुरु गरिएको यो कार्यक्रम प्रभावकारी नभएको भन्दै आयोगले खारेज गरेको हो ।
घरदैलो कार्यक्रम खारेज गरेर यसको सट्टा मतदान केन्द्रमै सूचना केन्द्र राख्ने तयारी गरिएको आयोगका सूचना अधिकारी तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल बताउँछन् । जसका लागि २४ करोड बजेट छुट्ट्याइसकेको उनको भनाइ छ ।
घरदैलो कार्यक्रमका बारे निकै गुनासा आएकाले हटाइएको उनको भनाइ छ । ‘यसै वर्षदेखि घरदैलो कार्यक्रम हटाइएको छ । विगतका निर्वाचनको समीक्षा गर्दा फोरममा, राज्य व्यस्था समितिमा पनि यो कार्यक्रम प्रभावकारी नभएको गुनासो आएपछि आयोगले यो कार्यक्रमलाई खारेज गरेको हो,’ अर्याल भन्छन् ।
मतदाता शिक्षाअन्तर्गत गर्दै आएको घरदैलो कार्यक्रमका लागि मात्रै ४० करोडभन्दा बढी खर्च गर्दै आएको आयोगको भनाइ छ । घरदैलो कार्यक्रमलाई खारेज गरेर आयोगले वैशाख २९ र ३० गते मतदान केन्द्रमै मतदान सूचना केन्द्र बनाएर मतदाता शिक्षाको कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
मतदाता शिक्षाको घरदैलो कार्यक्रम हटाए पनि सामाजिक सञ्जालमार्फत् भने मतदाता साक्षरताको काम जारी रहने अर्याल बताउँछन् । उनी भन्छन्, ‘अबको समयमा मतदाता शिक्षालाई रेडियो, टेलिभिजन, स्थानीय मिडिया, सामाजिक सञ्जाल, अनलाइन पोर्टलमार्फत् सूचना प्रवाह गरेर जोड दिने भनेरै हामीले मतदाता शिक्षाको मोडालिटी परिवर्तन गरेका हौँ ।’
