काठमाडौं, ३० चैत । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपालबीच चुनावी तालमेल हुने भएको छ ।
बुधबार एमाले पार्टी कार्यालय थापाथलीमा भएको वार्तामा दुई दलबीच चुनावी गठबन्धन गर्ने सहमति भएको हो । दुई दलबीच एउटै चिह्नबाट चुनाव लड्नेसहित पाँचबुँदे सहमति भएको छ । योसँगै ३० वैशाखमा हुने स्थानीय तहको चुनावमा कमल थापा नेतृत्वको राप्रपा सूर्य चिह्नबाट चुनाव लड्ने छ ।
राप्रपा नेपालले उठाउने उम्मेदवारहरूले सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नसहित पाँचबुँदे सहमतिमा एमाले स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभाग प्रमुख सुशील कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सूर्य चिह्नबाट चुनाव लडेर निर्वाचित भएपछि पनि राप्रपा नेपालमै आवद्ध हुने सहमति पनि भएको छ । यसैगरी देशभर तालमेल सम्भव भएका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने, राप्रपा नेपालले आफ्ना उम्मेदवार नभएका ठाउँमा एमालेका उम्मेदवारलाई सघाउने र एमालेले राप्रपा नेपालका उम्मेदवारलाई सघाउने सहमति पनि भएको छ ।
यस्तै एमाले र राप्रपा नेपालका जिल्ला कमिटीहरूले आपसमा छलफल गर्ने, सहकार्यका लागि प्रस्ताव तयार गर्ने र आ-आफ्नो पार्टी केन्द्रमा पठाउने तथा केन्द्रीय तहको अनुमतिपछि सहमति कार्यान्वयन गर्ने समझदारी पनि भएको छ ।
